धनगढी , १४ असोज / एसपिए लिटल फ्लावर प्राइड लिगको दशौँ संस्करणअन्तर्गत सिनियर टी–२० क्रिकेट प्रतियोगिता भोलिदेखि धनगढीमा सुरु हुने भएको छ। प्रतियोगितामा १५ टोलीले सहभागिता जनाउने आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन असोज १५ गते बिहान फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले गर्ने तय भएको छ। यस प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
दशौँ संस्करणसम्म आइपुग्दा विभिन्न चुनौती र आर्थिक कठिनाइका बाबजुद प्रतियोगितालाई निरन्तरता दिइएको आयोजक कल्वका अध्यक्ष रामचन्द्र शाहीले बताए।
क्रिकेटप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै प्रतियोगितामार्फत स्थानीय स्तरमा क्रिकेटको वातावरण निर्माणमा योगदान पुर्याउने उद्देश्य रहेको उनको भनाइ छ।