धनगढी, १५ असोज / सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोज १७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको विशेष स्रोतले जानकारी दिएको छ।
यसअघि असोज १ गतेबाट बजेट ल्याउने तयारी गरिएको थियो। त्यसपछि असोज १५ गतेभित्र बजेट ल्याउने गरी सरकारले तयारी अघि बढाएको थियो। तर उक्त समयसीमासमेत पूरा हुन नसकेपछि अब असोज १७ गते बजेट ल्याउने तयारी भइरहेको स्रोतको दाबी छ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश लामो समयदेखि बजेटविहीन अवस्थामा छ। नयाँ सरकार गठनपछि मुख्यमन्त्री खगराज भट्टले बजेट ल्याउने विषयमा पटकपटक समयसीमा तोक्दै आए पनि ती समयसीमा पूरा हुन सकेका छैनन्। सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री भट्टले यसअघि भदौ मसान्तभित्र बजेट ल्याउने बताउनुभएको थियो भने पछिल्लो समय असोज १५ गतेभित्र बजेट ल्याउने तयारी गरिएको थियो।
विशेष स्रोतका अनुसार यसपटकको बजेटमा योजना छनोट तथा समावेश गर्ने विषयमा थप कडाइ गरिने भएको छ। सम्बन्धित मन्त्रीको जानकारी वा हस्ताक्षरबिना कुनै योजना बजेटमा समावेश भएको पाइए सम्बन्धित पक्ष कारबाहीको भागीदार हुनुपर्ने गरी सरकार अघि बढेको स्रोतको दाबी छ।
यस्तै, मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेटको आकारसमेत घटाएको छ। शाह नेतृत्वको सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो।
वर्तमान सरकारले अघिल्लो बजेटको पुनरावलोकन तथा परिमार्जन गर्दै विभिन्न मन्त्रालयको बजेट सिलिङ घटाएको छ।
बजेटको सिलिङ घटाइएपछि अघिल्लो सरकारले बजेट प्रणालीमा समावेश गरेका योजना तथा कार्यक्रम समेत हटाइने भएका छन्।
अब असोज १७ गते बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी भइरहेको भए पनि सरकारले औपचारिक रूपमा उक्त मितिलाई अन्तिम घोषणा भने गरिसकेको छैन।