काठमाडौँ, १९ असोज / धनगढी हवाई मार्गमा भाडादर अत्यधिक वृद्धि भएको छ । सामान्य अवस्थाको तुलनामा दोब्बरसम्म भाडा वृद्धि भएपछि सुदूरपश्चिम आवतजावत गर्ने यात्रुहरू अतिरिक्त आर्थिक मारमा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ–धनगढी रुटका लागि अधिकतम २१ हजार ६ सय रुपैयाँ भाडादर निर्धारण गरेको छ । तर, निजी एयरलाइन्स कम्पनीहरूले भने २२ हजार १८० रुपैयाँसम्ममा टिकट बिक्री गरिरहेका छन् ।
सामान्य अवस्थामा १० हजार ८ सय रुपैयाँमा उपलब्ध हुने उक्त रुटको टिकट हाल न्यूनतम १५ देखि १६ हजार रुपैयाँभन्दा कममा नपाइने स्थिति बनेको छ ।
चाडपर्वका वेला काठमाडौँबाट धनगढी जाने यात्रुको चाप उच्च रहने र धनगढीबाट काठमाडौँ फर्किने उडानहरू प्रायः खाली हुने भएकाले भाडा समायोजन गर्नुपरेको एयरलाइन्स कम्पनीहरूको भनाइ छ । प्राधिकरणले तोकेको माथिल्लो सीमाभित्रै रहेर भाडादर तोकिएको दाबी उनीहरूले गरेका छन् ।
यता धनगढी विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम सीमाभन्दा बढी भाडा लिन नपाइने बताउनुभयो। तोकिएको सीमाभन्दा बढी रकम असुल गरिएका पाइएमा अनुगमन गरी आवश्यक कारबाही गरिने उहाँको भनाइ छ ।