धनगढी, १९ असोज / कल २४ न्युजले खेलकुदको प्रवर्धन, युवा सशक्तिकरण तथा दुर्व्यसनमुक्त समाज निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले ‘कल २४ न्युज कप फुटसल टुर्नामेन्ट २०८३’ आयोजना गर्ने भएको छ ।
कल २४ न्युजका सम्पादक भक्तराज जोशीले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करण असोज २४ र २५ गते धनगढीस्थित वाल्मीकि फुटसलमा आयोजना हुने जानकारी दिए ।
गत वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको कल २४ न्युजले यस वर्ष प्रतियोगितालाई थप परिस्कृत र भव्य बनाउने जनाएको छ । प्रतियोगितामा पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ प्रत्येक टोलीमा ७ जना खेलाडी रहनेछन् । ३० वर्ष वा सोभन्दा माथिका खेलाडी सहभागी हुने प्रतियोगितामा प्रत्येक टोलीले ३० वर्षमुनिका एक जना खेलाडीसमेत सहभागी गराउन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महिलातर्फ भने खुला प्रतिस्पर्धा हुनेछ । महिला टोलीमा पनि ७ जना खेलाडी रहनेछन् भने उमेरको कुनै सीमा तोकिएको छैन ।
प्रतियोगिताको पुरुषतर्फ विजेता टोलीले नगद ५० हजार ५५५ रुपैयाँ तथा उपविजेताले ३० हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । महिला विजेताले २२ हजार २२२ रुपैयाँ र उपविजेताले ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
त्यस्तै, दुवै विधाका विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । पुरुषतर्फ बेस्ट किपर, बेस्ट डिफेन्डर र टुर्नामेन्ट अफ द सिरिजलाई जनही २ हजार ५०० रुपैयाँ तथा महिलातर्फका विधागत उत्कृष्ट खेलाडीलाई जनही १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका सम्पूर्ण खेल कल २४ न्युजका आधिकारिक डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरिएको छ ।
स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास, उदीयमान खेलाडीलाई प्रोत्साहन र युवालाई स्वस्थ तथा सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सम्पादक जोशीले बताए ।