धनगढी ७ असोज/नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज चौधरी डगौराले आफूलाई जानकारी नदिई कार्यवाहक सभापतिको जिम्मेवारी अन्य व्यक्तिलाई तोकिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार जारी प्रेस विज्ञप्तिमार्फत चौधरीले जिल्ला सभापति नारायणदत्त भट्टबाट कार्यवाहक सभापतिको जिम्मेवारी पाएर पार्टी संगठनका काम गर्दै आएको अवस्थामा आफू व्यक्तिगत शोकमा रहेका बेला यस्तो निर्णय भएको जानकारी पाएको बताएका छन् ।
उनले गत भदौ २९ गते आमाको निधन भएपछि काजकिरियामा रहेका बेला पनि पार्टीको संगठनात्मक काम प्रभावित नहोस् भनेर असोज १ गते जिल्ला भेला आयोजना गरी पार्टीका नियमित कामलाई निरन्तरता दिएको उल्लेख गरेका छन् । त्यसक्रममा पार्टीको संगठनात्मक गतिविधिमा कुनै बाधा–अवरोध उत्पन्न नभएको उनको दाबी छ ।
चौधरीले आफूले पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि नभई विचार, सिद्धान्त, लोकतन्त्र र संगठनप्रतिको निष्ठाका आधारमा पार्टीमा महत्वपूर्ण समय समर्पित गरेको बताएका छन् । पार्टीभित्र योगदान, त्याग र संघर्षको सम्मान हुनुपर्ने भन्दै उनले आफूले जीवनभर गरेको योगदानमाथि प्रश्न उठ्ने गरी भएका निर्णयले पार्टीका लागि गरेको त्यागको मूल्यबारे प्रश्न जन्माएको उल्लेख गरेका छन् ।
कैलालीको ग्रामीण भूगोलबाट संघर्ष गर्दै राजनीतिमा स्थापित भएको उल्लेख गर्दै चौधरीले जिल्लामा ठूलो जनसंख्या रहेको आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै आएको पनि बताएका छन् । आफूजस्ता प्रतिनिधिलाई पटक–पटक जिम्मेवारीबाट पन्छाउँदा कैलाली कांग्रेसका हजारौँ कार्यकर्ताको मनमा प्रश्न र पीडा पैदा भएको उनको भनाइ छ।
‘कांग्रेस सबैको पार्टी हो’ भन्दै उनले पार्टीभित्र योगदान, त्याग, संघर्ष र जनाधारको सम्मान हुनुपर्नेमा जोड दिएका छन्। व्यक्ति वा समूहलाई किनारा लगाउने, योगदानलाई अवमूल्यन गर्ने र कार्यकर्ताबीच विभाजनको भावना पैदा गर्ने व्यवहारले पार्टीलाई बलियो बनाउन नसक्ने चौधरीले बताएका छन् । उनले पार्टी सभापति तथा नेतृत्वलाई कार्यकर्ताको योगदानको सम्मान गर्न, प्रतिनिधित्वको भावनालाई आत्मसात गर्न तथा निर्णय प्रक्रियामा न्याय र पारदर्शिता कायम गर्न आग्रह गरेका छन् ।
चौधरीले आफ्नो असहमति पार्टी विभाजनका लागि नभई पार्टीभित्र न्याय, सम्मान र एकताको पक्षमा उठाइएको आवाज भएको स्पष्ट पारेका छन् । उनले नेतृत्वले विषयलाई गम्भीरतापूर्वक लिएर उत्पन्न असन्तुष्टि र अन्योलको समाधान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।