धनगढी, ७ असोज / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा भइरहेको जनशक्ति पदपूर्ति प्रक्रियामा राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरेको छ।
रास्वपा सुदूरपश्चिम प्रदेश कार्यालयले विश्वविद्यालयका उपकुलपतिलाई पत्र बुझाउदै पदपूर्ति प्रक्रिया प्रचलित कानुन, नियम, कार्यविधि तथा निर्धारित मापदण्डअनुसार निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न गर्न आग्रह गरेको हो।
प्रदेश समितिले जनशक्ति पदपूर्ति योग्यता र क्षमताका आधारमा हुनुपर्ने स्पष्ट धारणा राखेको छ। विश्वविद्यालयको संस्थागत स्वायत्तता तथा कानुनी प्रक्रियाको पूर्ण सम्मान गर्ने उल्लेख गर्दै रास्वपाले पार्टीका प्रदेश, जिल्ला, पालिका तथा अन्य तहका पदाधिकारी तथा सदस्य, सांसद र पार्टीसँग सम्बन्धित कुनै पनि व्यक्तिले आफ्नो पद, पहुँच वा पार्टीको नाम प्रयोग गरी पदपूर्ति प्रक्रियामा दबाब, प्रभाव, व्यक्तिगत सिफारिस वा हस्तक्षेप नगर्न/नगराउन निर्देशन दिएको छ।
त्यस्तो कार्य भएको जानकारी प्राप्त भएमा तत्काल प्रदेश समितिलाई जानकारी गराउनसमेत पत्रमार्फत आग्रह गरिएको छ।
पार्टीको नाम वा राजनीतिक पहुँचको दुरुपयोग गरी विश्वविद्यालयको स्वायत्तता तथा पदपूर्ति प्रक्रियामा हस्तक्षेप गर्ने जोसुकै व्यक्तिमाथि पार्टीको विधान तथा आन्तरिक व्यवस्थाबमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने रास्वपा सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ।
विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा चिकित्सकीय विकासका लागि आवश्यक सहयोग र सहजीकरण गर्न पार्टी सकारात्मक रहेको पनि पत्रमा उल्लेख छ। तर, त्यस्तो सहयोगलाई विश्वविद्यालयको निर्णय वा जनशक्ति पदपूर्ति प्रक्रियामा राजनीतिक प्रभावका रूपमा प्रयोग नगरिने रास्वपाले स्पष्ट पारेको छ।
प्रदेश समितिले उक्त पत्रको बोधार्थ सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका प्रतिनिधि सभा सदस्यहरू तथा तहगत समितिका पदाधिकारी र सदस्यहरूलाई समेत दिएको छ।