धनगढी, ७ असोज/कैलालीको भजनी नगरपालिका-५ गुलरियाबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक महिला पक्राउ परेकी छन्।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म गुलरियाबाट खटिएको चेकपोस्ट टोलीले मंगलबार साँझ शंकास्पद रूपमा जाँच गर्ने क्रममा भारततर्फ लैजाँदै गरेको अवस्थामा भारतीय रुपैयाँ बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन भारतीका अनुसार भजनी नगरपालिका-५ की अन्दाजी ५० वर्षीया महिलाको साथबाट २ लाख ७४ हजार ५८० भारतीय रुपैयाँ बरामद भएको छ। उक्त रकमको नेपाली मूल्य करिब ४ लाख ३९ हजार ३२८ रुपैयाँ बराबर हुने प्रहरीले जनाएको छ।
स्रोत नखुलेको रकमसहित पक्राउ परेकी महिलालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।