धनगढी, ७ असोज/राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा ‘सुदूरपश्चिम युवा संघ पेनाल्टी कप-२०८३’ आयोजना हुने भएको छ।युवा खेलाडीलाई खेलकुदमार्फत सकारात्मक सहभागिता, स्वस्थ प्रतिस्पर्धा, अनुशासन तथा आपसी सहकार्यको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
आगामी असोज २४ गते आयोजना हुने प्रतियोगिता खुला पेनाल्टी प्रहार प्रतियोगिताका रूपमा सञ्चालन हुनेछ। प्रतियोगितामा ३२ टोलीको सहभागिता रहनेछ भने प्रत्येक टोलीमा ६ जना खेलाडी रहने व्यवस्था गरिएको राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिनोद बिस्टले बताए । अध्यक्ष बिस्टका अनुसार प्रथम हुने टीमले ५१ हजार नगद, द्धितीय हुने टीमले ३१ हजार तृतीय हुने टिमले २१ हजार पुरुस्कार पाउने छन् ।
प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूको खेलकुदमा सहभागिता अभिवृद्धि गर्नुका साथै स्थानीय तथा प्रदेशस्तरका खेल प्रतिभालाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।साथै युवामा आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता तथा खेलभावनाको विकास गर्ने र विभिन्न क्षेत्रका युवाबीच परिचय, मित्रता तथा सहकार्य बढाउने लक्ष्य राखिएको राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज रोहित कुँवरले बताए।
आयोजकका अनुसार प्रतियोगिताले आगामी वर्षहरूमा नियमित रूपमा युवा खेलाडी केन्द्रित प्रतियोगिता सञ्चालन गर्ने आधारसमेत तयार गर्ने अपेक्षा गरिएको छ। साथै दशैं, तिहार तथा छठ पर्वको अवसरलाई समेत लक्षित गर्दै युवालाई खेलकुदमार्फत जोड्ने उद्देश्य राखिएको छ।