कञ्चनपुर,२८ भदौ / कञ्चनपुरमा चार वर्षको अवधिमा एक हजार बढी सवारी दुर्घटना हुँदा १५८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले आर्थिक वर्ष २०७९÷८० देखि हालसम्म जिल्लामा एक हजार २०५ सवारी दुर्घटनामा परेको जनाएको हो । कार्यालयका अनुसार सो अवधिमा सवारी दुर्घटनामा परेर एक हजार ८८५ मानिस घाइते भएका थिए भने १५८ जनाले ज्यान गुमाएका छन् ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७९/८० मा ६३ सवारी दुर्घटना हुँदा ५९ जना घाइते भएका थिए भने ४३ जनाको ज्यान गएको थियो । त्यसै गरेर आव २०८०/८१ मा ५६ सवारी दुर्घटना हुँदा ७४ जना घाइते भएका थिए भने ३२ मानिसको ज्यान गएको थियो । आव २०८१/८२ मा ४५२ सवारी दुर्घटना हुँदा ७७३ जना घाइते भएकामा ३८ जनाले ज्यान गुमाएका थिए । आव २०८२/८३ मा ५६४ सवारी दुर्घटनामा परेका थिए । जसमध्ये गत आवमा ८७८ मानिस घाइते भएकामा ४१ जनाले ज्यान गुमाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथले बताए ।
त्यसै गरेर चालु आवको हालसम्म ७० सवारी दुर्घटना हुँदा १०१ जना घाइते भएका थिए भने चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा आठ हजार ३०१ जना सवारीचालकमाथि कारबाहीसमेत गरिएको जनाएको छ । कार्यालयले नियम उल्लङ्घन गरी सवारी चलाएको भन्दै उनीहरूबाट ६९ लाख १४ हजार पाँच सय रुपियाँ जरिबानासमेत असुल गरिएको जनाएको छ । त्यसै गरेर चालु आवको हालसम्म एक हजार ९०८ सवारीचालक कारबाहीमा परेका छन् । उनीहरूबाट ट्राफिक प्रहरीले १३ लाख पाँच हजार रुपियाँ जरिबाना असुल गरिएको जनाएको छ ।
पछिल्लो समय ट्राफिक प्रहरीले मापसे परीक्षणको कार्यलाई समेत निरन्तरता दिँदै आएको छ । कार्यालयका अनुसार गत साउन महिनामा लागुऔषध सेवन प्रयोग गरेर सवारीसाधन चलाउने विङ्गरचालक, विद्युतीय हाइस, अटो र मोटरसाइकलचालक गरेर पाँच जनालाई कारबाही गरिएको छ ।
सवारीसाधन चलाउँदा क्षमताभन्दा बढी यात्रु नराख्न तथा मापसे सेवन गरेर सवारी नहाँक्न समेत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नाथले आग्रह गरेका छन् ।