धनगढी, १७ भदौ / नेपाली कांग्रेसको इतर समूहले पार्टीको महाधिवेशन तथा तल्लो तहका अधिवेशनहरू सम्पन्न गराउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। महाधिवेशन तयारीका लागि गठन गरिएको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिमार्फत विभिन्न जिल्लामा प्रतिनिधि खटाइएको जानकारी दिइएको हो।
सुदूरपश्चिमका नौवटै जिल्लामा पनि अधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित केन्द्रीय प्रतिनिधि तोकिएका छन्। जसअनुसार कैलालीमा देवराज जोशी, कञ्चनपुरमा प्रदीप देउवा, डडेल्धुरामा टेकबहादुर रैका, बैतडीमा चित्तामणि भट्ट, दार्चुलामा सन्तोष ऐतवाल, अछाममा कबिराज पण्डित, डोटीमा अर्जुन ताम्रकार, बझाङमा सिताराम जोशी र बाजुरामा हर्कजंगबहादुर सिंहलाई जिम्मेवारी दिइएको छ।
विज्ञप्तिमा महाधिवेशन सफल बनाउन पार्टीका सबै पक्षसँग आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरिएको छ। क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई समेत अधिवेशन प्रक्रियामा सक्रिय सहभागिता जनाउन अपिल गरिएको छ। भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न तहमा तयारी समिति गठन गर्ने समयसीमा समेत निर्धारण गरिएको छ।
निर्णयअनुसार जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज ३ गतेभित्र गठन गरिसक्नुपर्नेछ। कांग्रेसभित्र संस्थापन र इतर समूहबीच महाधिवेशनको प्रक्रिया र नेतृत्वलाई लिएर विवाद देखिँदै आएका बेला इतर समूहले छुट्टै तयारी तीव्र पारेको हो।