धनगढी, २५ भदौ / धनगढीमा आगामी भदौ ३० गते साँझ ५ बजे ‘गाईजात्रा सिजन–२’ कार्यक्रम आयोजना हुने भएको छ । बैजनाथ सञ्चार प्रालिको आयोजनामा हुन लागेको कार्यक्रम यसअघि भदौ १७ गते आयोजना गर्ने तय भए पनि भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, जोगेन्द्र पानवाला र मुलासाक लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै, कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने बताइएको छ ।
कार्यक्रमका लागि टिकट बिक्रीबाट संकलन हुने रकमको २५ प्रतिशत भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने गाईजात्रा सिजन–२ का आर्थिक संयोजक सुभेश पाठकले जानकारी दिए । उनका अनुसार कार्यक्रमका लागि नगरपालिका, गाउँपालिका, स्थानीय सरकार तथा विभिन्न निजी संघसंस्थाबाट सहयोग प्राप्त भएको छ ।
करिब १५ लाख रुपैयाँको लागतमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको मुख्य प्रायोजक माया मेट्रो अस्पताल रहेको छ भने प्रायोजक चैतन्य पाठशाला रहेको छ । मुख्य प्रायोजकका रूपमा सहभागी हुन पाउँदा खुसी लागेको माया मेट्रो अस्पतालका सञ्चालक धीरेन्द्र साउदले बताए ।
मनोरञ्जनसँगै सामाजिक तथा समसामयिक विषयवस्तुलाई व्यङ्ग्यमार्फत प्रस्तुत गर्दै जनचेतना तथा सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बैजनाथ सञ्चार प्रालिका प्रबन्ध निर्देशक सरस्वती खड्का भट्टले बताइन् ।
कार्यक्रम धनगढीस्थित एसटिएस सिनेमा हलमा आयोजना हुने आयोजकले जनाएको छ।