धनगढी, २६ साउन / कैलाली बहुमुखी क्याम्पसद्वारा आयोजित (एड फर केएमसी) विज्ञापन प्रतियोगितामा प्रथम भएको टिमले पुरस्कारबापत प्राप्त रकम सामाजिक सेवामा खर्च गरेको छ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिममा धिरेन्द्र सिंह गोयला, चेतराज भट्ट, गणेश धामी, डिल्ली राज ओझा, लक्ष्मी महरा, अस्मिता जोशी, हरिश प्रसाद कपाडी, हिमाल ऐर, रोबिन साउद र दशरथ भट्ट रहेका छन्। प्रतियोगिताबाट प्राप्त पुरस्कारलाई व्यक्तिगत प्रयोजनमा खर्च नगरी ‘सेवा नै परम धर्म हो’ भन्ने भावनाका साथ सामाजिक सेवामा उपयोग गर्ने निर्णय गरिएको टिमले जनाएको छ।
सोहीअनुसार पुरस्कारबापत प्राप्त रकमले चामल, तेल, दाल, बिस्कुट, ल्याक्टोजिनलगायतका खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गरी आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गरिएको टिमका संयोजक धीरेन्द्र गोयलाले बताए ।
गोयलाले सामाजिक क्षेत्रमा काम गर्दै आएको धनगढी ११ मा रहेको दृष्टि फाउन्डेसनमा उक्त खाद्यान्न सामान सहयोग गरेको जानकारी दिए।
प्रतियोगितामा प्राप्त उपलब्धिलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले पुरस्कारको रकम सामाजिक सेवामा खर्च गरिएको टिमका अर्का सदस्य गणेश धामीले बताएका छन्। उनले विद्यार्थी जीवन अध्ययन र व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई आफ्नो क्षमता र सफलतालाई समाजको हितमा प्रयोग गर्न सक्नु पनि उत्तिकै महत्वपूर्ण रहने बताए।
प्रतियोगितामा जितेको पुरस्कारबाट आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने कार्यले विद्यार्थीमा सेवाभाव, सामाजिक उत्तरदायित्व र मानवीय संवेदना विकास गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
‘हामीले जितेको पुरस्कार हाम्रो मात्र होइन, समाजको पनि हो’ भन्ने भावनाका साथ पुरस्कारको रकम सामाजिक सेवामा खर्च गरिएको टिमले जनाएको छ।
अभियानमा सहकार्य गर्ने दृष्टि फाउन्डेसन नेपाल, कैलाली बहुमुखी क्याम्पस, प्रतियोगिताका आयोजक तथा सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संस्थाप्रति टिमले आभार व्यक्त गरेको छ।