करिब ५०-५५ वर्षकी एक वृद्धा आमा तरकारी किन्न हाटबजारसम्म पुगिन्। हातमा एउटा झोला थियो। बजारमा पुग्नेबित्तिकै उनी एउटा पसलबाट अर्को पसलतिर पुग्न थालिन्। हरेक ठाउँमा तरकारीको मूल्य सोध्दै गइन्।
“आलु कति हो बाबु ?”
“६० रुपैयाँ किलो आमा।”
“अनि यो ?”
“त्यो ८०।”
“टमाटर नि ?”
“७०।”
आमाले एकछिन वरिपरि हेरिन्। मूल्य सुन्दै जाँदा उनको अनुहारमा अचम्म र निराशा दुवै देखिन्थ्यो। केहीबेरपछि उनी त्यहीँ रोकिइन् र आफ्नै भाषामा भनिन्, “ओहो ! यति धेरै कसरी भयो यो ? ४० रुपैयाँको मिल्या हो कि नाई ? एक किलो दिना न। एक महिना अगाडि त कमै थियो, आजै कसरी यति धेरै भयो ?”
उनले पहाडबाट ल्याइएको आलुको मूल्य सोधेकी रहिछन्। सायद एक महिनाअघि त्यही आलु ४०–४५ रुपैयाँमा किनेकी थिइन्। आज एक महिना पनि नबित्दै ६०–६५ रुपैयाँ पुगेको देख्दा उनी छक्क परिन्।
तरकारी व्यापारीले निर्धक्क जवाफ दियो,
“के गर्नु आमा, ल्याउँदाखेरि नै महँगो पर्छ। भाडा महँगो भएर सबै तरकारी महँगो भएको हो। तपाईंलाई विश्वास लाग्दैन भने यहाँ सबैलाई सोध्नुस्, मूल्य बढिसक्यो। सरकारले नै डिजेल, पेट्रोलको मूल्य बढाएको छ। ल्याउनेहरूले पनि हामीलाई महँगोमा बेच्छन्। अब हामीले पनि एक रुपैयाँ दुई रुपैयाँ नाफा त कमाउनै पर्यो नि !”
यति भन्दै व्यापारी आफ्नो काममा लाग्यो। कसैलाई तरकारी दिँदै थियो, कसैबाट पैसा लिँदै थियो। बीचबीचमा उसले सबैलाई एउटै कुरा सुनाउँदै थियो,
“सरकारले नै बढाएको हो, हामीले के गर्न सक्छौँ र ?” आमाले पनि अन्ततः भनिन्, ल, जे हुन्छ तरकारी हाल्दिनु।”
तरकारी झोलामा हाल्दै गर्दा उनी फेरि बोलिन्, “चुनावअघि त मेरो चेलोले भन्या थ्यो, नयाँ सरकार आया पाछा निको हुन्या हो भनेर। खै के निको भयो बा ?”
आमाको प्रश्न सुनेपछि व्यापारी एकछिन अक्क न बक्क भयो। केहीबेर मौन बसेर भन्यो,
“अब के भन्नु आमा ! त्यतिबेला पनि केही राम्रो होला भनेर सबैले सोचेका थियौँ। अब त उही भयो कि गद्दु(गर्ने), के थाहा ! चित्त बुझाउनुस्।”
आमा चुप लागिन्। व्यापारी आफ्नो काममा लाग्यो। तर त्यो दिन हाटबजारमा भएको त्यो संवाद केवल एक वृद्धा आमा र एक तरकारी व्यापारीबीचको संवाद थिएन। त्यो त अहिले आम नागरिकको मनभित्र चलिरहेको एउटा ठूलो संवादको प्रतिनिधि आवाज थियो।
यस्ता संवाद आजकल बजारमा मात्रै सुनिँदैनन्। यातायात कार्यालयमा सुनिन्छन्, राजस्व कार्यालयमा सुनिन्छन्, भन्सार कार्यालयमा सुनिन्छन्। अस्पतालको लाइनमा सुनिन्छन्। विद्यालय र कलेजका अभिभावकबीच सुनिन्छन्। रोजगारीको खोजीमा भौँतारिएका युवाबीच सुनिन्छन्। पछिल्लो समय खाना पकाउने ग्यास नपाएर बजार–बजार धाइरहेका नागरिकको लाममा पनि यस्तै गुनासो सुनिन्छ।
“के परिवर्तन भयो त ?”
यो प्रश्न विस्तारै आम नागरिकको साझा प्रश्न बन्दै गएको छ।
कतै कर बढेको छ। कतै मूल्य बढेको छ। कतै कालोबजारी नियन्त्रण हुन सकेको छैन। कतै सरकारी सेवा लिन घण्टौँ लाइन बस्नुपरेको छ। कतै वैदेशिक हस्तक्षेप बढेको भन्दै प्रश्न उठेका छन्। कतै सत्ता र शक्तिको भागबण्डा नमिलेको चर्चा छ। अनि कतै सरकार आफ्नै प्राथमिकता र प्रतिबद्धताको बाटोमा अलमलिएको देखिन्छ।
चार महिना बितिसक्यो। सरकार गठन हुँदै गर्दा नागरिकलाई भनिएको थियो “दय दिन हेर्नुस्, परिवर्तन देखिन्छ।” नागरिकले हेरे; पर्खिए; आशा गरे। आलोचना गर्न हतार गरेनन्। सरकारलाई काम गर्ने समय दिनुपर्छ भनेर धेरैले चुपचाप समर्थन गरे।
तर सय दिन सकिएको पनि अब झन्डै एक महिना हुन लाग्यो। नागरिकको धैर्य भने विस्तारै कमजोर हुँदै गएको देखिन्छ।
चोक-चोकमा कुरा हुन थालेको छ।
“सय दिनमा कायापलट गर्छु भन्नेहरूले यस्तो कायापलट गर्ने पो रहेछन् !”
यो वाक्य आफैँमा एउटा व्यङ्ग्य हो। तर त्यो व्यङ्ग्यभित्र जनताको निराशा पनि छ। अपेक्षा पनि छ। र सरकारप्रतिको प्रश्न पनि छ।
अझ यो निराशालाई विपक्षी राजनीतिक दलहरूले मलजल गरिरहेका छन्। सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म सरकारका कमजोरीलाई लिएर व्यङ्ग्य भइरहेको छ। सरकारका हरेक निर्णयलाई आलोचनाको विषय बनाइएको छ।
विपक्षीको काम नै सरकारलाई प्रश्न गर्नु हो। त्यसैले आलोचना हुनु अस्वाभाविक होइन। तर समस्या त्यहाँ मात्र छैन। समस्या त जनताको मनमा उठेको प्रश्नमा छ।
जनताले सरकारसँग चमत्कार मागेका होइनन्। उनीहरूले रातारात देश बदलियोस् भनेका पनि होइनन्। उनीहरूले सामान्य जीवन केही सहज होस् भन्ने चाहेका हुन्। बजारमा मूल्य नियन्त्रण होस्। सरकारी कार्यालयमा काम सहज होस्। शिक्षा र स्वास्थ्यमा पहुँच बढोस्। युवाले आफ्नै देशमा केही गर्ने वातावरण पाओस्। भ्रष्टाचार र कालोबजारीविरुद्ध सरकार कडा देखियोस्। जनताले कर तिर्दा त्यसको प्रतिफल महसुस गर्न पाऊन्।
यति अपेक्षा गर्नु धेरै हो र ? अहिलेको सबैभन्दा ठूलो चुनौती यही हो, जनताको विश्वास जोगाइराख्नु।
सरकारले काम गरिरहेको नहोला भन्ने होइन। काम भइरहेका पनि होलान्। केही कामका परिणाम देखिन समय लाग्ला। शासन चलाउनु सजिलो काम होइन। एउटा निर्णय गर्न पनि अनेकौँ पक्ष मिलाउनुपर्ने हुन्छ। त्यसैले सबै कुरा तत्कालै परिवर्तन हुन्छ भन्ने अपेक्षा पनि व्यावहारिक हुँदैन।
तर सरकारका कमजोरीलाई कमजोरीकै रूपमा स्वीकार गर्ने साहस पनि सरकारमा हुनुपर्छ। किनकि पहिलो गाँसमै ढुंगा परेपछि मानिसले अर्को गाँस खानुअघि सोच्न थाल्छ।
आजको नागरिक हिजोजस्तो चुपचाप बस्ने नागरिक होइन। उसले सामाजिक सञ्जाल हेर्छ। समाचार पढ्छ। तथ्य खोज्छ। तुलना गर्छ। प्रश्न गर्छ। सरकारको एउटा निर्णय र अर्को निर्णयबीचको अन्तरसमेत हेर्छ।
त्यसैले अब नागरिकलाई भाषणभन्दा परिणाम चाहिएको छ। आश्वासनभन्दा अनुभूति चाहिएको छ। प्रचारभन्दा काम चाहिएको छ।
हाटबजारमा आलु किन्दै गरेकी ती वृद्धा आमाले सरकारविरुद्ध कुनै राजनीतिक भाषण गरेकी थिइनन्। उनले कुनै पार्टीको नाम पनि लिएकी थिइनन्। उनले केवल एउटा प्रश्न गरेकी थिइन् ;
“चुनावअघि त नयाँ सरकार आएपछि निको हुन्छ भन्या थ्यो, खै के निको भयो ?”
यो प्रश्नको जवाफ कुनै तरकारी व्यापारीसँग छैन। यसको जवाफ सरकारसँग हुनुपर्छ।
तरकारी व्यापारीले पनि आफ्नो बाध्यता सुनायो-“हामीले के गर्न सक्छौँ र, सरकारले नै बढाएको हो।”
सायद यही वाक्य अहिले नागरिक र सरकारबीचको दूरीको एउटा चित्र हो। सरकार भन्छ ; समस्या अरूको कारण हो। व्यापारी भन्छ; समस्या सरकारको कारण हो। नागरिक भने बीचमा उभिएर दुवैको कुरा सुनिरहेको छ र अन्ततः मूल्य तिरेर घर फर्किरहेको छ।
तर नागरिक सधैँ चुप लागेर बस्ला त ? यो प्रश्नको उत्तर अहिले नै खोज्न आवश्यक छ। जनताको निराशा बढ्दै गयो भने त्यो केवल सरकारको लोकप्रियताको प्रश्न रहँदैन। त्यसले शासनप्रतिको विश्वास कमजोर बनाउँछ। लोकतन्त्रप्रतिको भरोसा कमजोर बनाउँछ। अनि त्यसको असर सत्ता परिवर्तनभन्दा पनि गम्भीर हुन सक्छ।
त्यसैले सरकारसँग अझै समय छ। गल्ती सच्याउने समय छ। काम देखाउने समय छ। जनतासँग संवाद गर्ने समय छ।
तर समय सधैँ पर्खेर बस्दैन। अब जनताले “१०० दिन” होइन, परिणाम हेर्न चाहेका छन्। भाषण होइन, आफ्नो भान्सामा आएको परिवर्तन हेर्न चाहेका छन्। कार्यालयमा घटेको झन्झट हेर्न चाहेका छन्। बजारमा नियन्त्रण भएको मूल्य हेर्न चाहेका छन्। सरकारले साँच्चै परिवर्तन गर्न खोजेको हो भने अब त्यसको अनुभूति ती ५०–५५ वर्षकी आमाले पनि गर्न पाउनुपर्छ।
किनकि अन्ततः सरकार सफल भयो कि भएन भन्ने कुरा सिंहदरबारका कुर्सीमा बसेर होइन, हाटबजारमा तरकारी किन्दै गरेकी आमाको झोलाले बताउने हो।
र ती आमाले फेरि सोध्न नपरोस्; “खै बा, के निको भयो ?”