गाउँबाट निस्किँदा आँखामा धेरै सपना थिए। मनमा अनेकौँ रहर थिए। केही बन्ने सपना थियो । केही गर्ने चाहना थियो। आफ्नो जीवनलाई आफ्नै तरिकाले बाँच्ने ठूलो इच्छा थियो। गाउँका ती खुला आकाश, चिसो हावा, आफ्ना मान्छेको माया र त्यो सरल जीवन छोडेर सहर छिरेँ।
सोचेको थिएँ , यहाँ अवसर धेरै छन्,यहाँ मेहनत गरेपछि सफलता पाइन्छ, यहाँ सपना पूरा गर्न सजिलो हुन्छ तर सहरमा आएपछि बुझ्दै गएँ। सहर अवसरको मात्र ठाउँ रहेनछ, यो त संघर्षको अर्को नाम पनि रहेछ। यहाँ हरेक बिहानसँगै नयाँ दौड सुरु हुन्छ। समयसँग दौडिनुपर्छ, आवश्यकतासँग सम्झौता गर्नुपर्छ, आफ्नो मनलाई बुझाउनुपर्छ र कहिलेकाहीँ आफ्नै रहरलाई चुपचाप मारेर जिम्मेवारी पूरा गर्नुपर्छ। गाउँबाट धेरै रहर बोकेर आएको थिएँ, तर सहरले बिस्तारै ती रहरहरूलाई जिम्मेवारीमा बदलिदियो। कहिले आफूलाई मन परेको कुरा किन्न मन लाग्छ, तर त्यही बेला घरको आवश्यकता सम्झिन्छु।
कहिले घुम्न मन लाग्छ, तर खर्चको हिसाबले रोकिदिन्छ। कहिले आफ्नै लागि केही गर्न मन लाग्छ,तर परिवारको सपना आँखाअगाडि आउँछ। अनि मनले भन्छ। अहिले होइन, कुनै दिन‘त्यही “कुनै दिन” को आशामा कति वर्ष बित्छन्, थाहा नै हुँदैन। भीड धेरै छ यो सहरमा,तर आफ्नोपन कम छ। मान्छे हजारौँ छन्, तर मन बुझ्ने मान्छे भेट्न मुस्किल छ। यहाँ सबैसँग समय कम छ। सबै आफ्नै संघर्षमा व्यस्त छन्। कसैलाई आफ्नो पीडा सुनाउने फुर्सद छैन, कसैलाई अरूको आँसु बुझ्ने समय छैन। दिनभरि मानिसहरूको भीडमा हराएर हिँडिन्छ ।
तर रात परेपछि आफ्नै कोठाको एकान्तमा मनले हजारौँ प्रश्न गर्न थाल्छ ……
“म कहाँ जाँदैछु ?
“के म सही बाटोमा छु ?
“मैले देखेका सपना कहिले पूरा होलान ?
“आखिर आफ्नै लागि बाँच्ने दिन कहिले आउला ?
बाहिरबाट हेर्दा सहर निकै सुन्दर देखिन्छ। ठूला भवनहरू छन्, झिलिमिली बत्तीहरू छन्, महँगा गाडीहरू छन्, मान्छेको ठूलो भीड छ। तर यी चम्किला बत्तीहरूको पछाडि कति मानिसका अधुरा सपना लुकेका छन्, कति आँखाका आँसु लुकेका छन्, कति मनका पीडा लुकेका छन्- त्यो सहरले कहिल्यै देखाउँदैन।
यो सहरले मलाई धेरै कुरा सिकाएको छ। सहरले पैसा कमाउन सिकायो,तर पैसाभन्दा ठूलो शान्ति रहेछ भन्ने पनि सिकायो। सहरले मानिस चिन्न सिकायो, तर सबै नजिक देखिने मानिस आफ्ना हुँदैनन् भन्ने पनि बुझायो।
सहरले संघर्ष गर्न सिकायो, हारेर फेरि उठ्न सिकायो, एक्लै हिँड्न सिकायो,र सबैभन्दा ठूलो कुरा-आफ्नो पीडा आफैँभित्र लुकाएर मुस्कुराउन सिकायोकहिलेकाहीँ लाग्छ,म पहिलाको म रहेनछु।
पहिले सानो कुरामा पनि खुसी हुन्थेँ, अहिले ठूलो खुसी पनि खोज्नुपर्छ। पहिले समय थियो, तर पैसा कम थियो। अहिले केही कमाइ छ, तर समय र मनको शान्ति कम हुँदै गएको छ। पहिले सपना धेरै थिए, अहिले जिम्मेवारी धेरै छन्। तर एउटा कुरा अझै बाँकी छ। आशा छ, सपनाहरू अझै मरेका छैनन्। बस्‘ केही समयका लागि जिम्मेवारीको भारीमुनि थिचिएका छन्। मलाई विश्वास छ, एक दिन त्यो बिहान अवश्य आउनेछ जब आजका यी संघर्षहरू सम्झिँदा आफैँलाई गर्व लाग्नेछ।
आज जसका लागि आफ्ना रहरहरू रोकिएका छन्, भोलि त्यही मानिसहरूको मुस्कान मेरो सबैभन्दा ठूलो सफलता हुनेछ। आज आफ्ना लागि केही गर्न नसके पनि परिवारका लागि केही गर्न सकेँ भने त्यो पनि मेरो जित हो। किनकि जीवन केवल आफूले चाहेको कुरा पाउनु मात्र होइन रहेछ। कहिलेकाहीँ आफूले चाहेको कुरा छोडेर आफूले माया गर्ने मानिसहरूको सपना पूरा गर्नु पनि जीवनकै सबैभन्दा ठूलो सफलता रहेछ। त्यसैले यो सहरसँग मेरो गुनासो छैन। यो सहरले मेरा धेरै रहरहरू मारेको होला, तर यही सहरले मलाई बलियो पनि बनाएको छ।
यही सहरको भीडमा हराउँदै मैले आफूलाई खोज्न सिकेको छु। यही सहरका गल्लीहरूमा हिँड्दै । मैले संघर्षको अर्थ बुझेको छु। र यही सहरको एकान्त रातमा बसेर मैले एउटा कुरा सिकेको छु। सपना पूरा हुन समय लाग्न सक्छ, तर सपना देख्न कहिल्यै छोड्नु हुँदैन। किनकि आज म थाकेको छु, तर हारेको छैन। आज मेरा रहरहरू रोकिएका छन्, तर मेरा सपनाहरू अझै जीवित छन्।
आज म अरूका लागि दौडिरहेको छु, तर विश्वास छ। एक दिन आफ्ना लागि बाँच्ने समय पनि अवश्य आउनेछ। त्यो दिनसम्म संघर्ष गरिरहनेछु, मेहनत गरिरहनेछु, चुपचाप अघि बढिरहनेछु।
किनकि सहरले रहरहरू खोसे पनि सपना खोस्न सक्दैन। परिस्थितिले बाटो रोक्न सक्छ, तर हिम्मत रोक्न सक्दैन। समयले परीक्षा लिन सक्छ, तर मेहनतको परिणाम सधैँ रोक्न सक्दैन। बस्,आजको यो संघर्षलाई स्वीकार गरेर भोलिको सुन्दर दिनको प्रतीक्षा गर्दैै छु । किनकि कुनै दिन यही दुःखका दिनहरू सम्झेर आफैँसँग बुझ्नेछु त्यो समय पनि बित्यो, र हामी पनि जित्यौँ।
लेखक आकाश खड्का (कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत हुनु हुन्छ)