बाजुरा, १९ साउन/बाजुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अर्की एक जनाको अवस्था गम्भीर रहेको छ।
जिल्लाको बडिमालिका नगरपालिका–७ धम्कने निवासी ५१ वर्षीय रामे थापाको विषालु च्याउ सेवनका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सोही च्याउ खाँदा उनकी श्रीमती ५० वर्षीया नाम्सरी थापा गम्भीर बिरामी परेकी छन्।
प्रहरीका अनुसार सोमबार साँझ घरमै जंगली च्याउ पकाएर खाएपछि दुवै जना बिरामी परेका थिए। उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो।
अस्पतालमा चिकित्सकले परीक्षण गर्दा रामे थापालाई मृत घोषणा गरेका थिए। गम्भीर अवस्थामा रहेकी नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। साथै, वर्षायाममा जंगलबाट संकलन गरिएका अपरिचित च्याउ सेवन नगर्न स्वास्थ्यकर्मी र सरोकारवाला निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्।