बाजुरा ४ साउन/बाजुराको हिमाली गाउँपालिका वडा –५ क्युडीस्थित कुवाडी–क्युडी सडक खण्डमा धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु।प।प्र।०१–००१ ज १८७८ नम्बरको जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
घाइते हुनेमा हिमाली गाउँपालिका वडा –२ नातीखोला बस्ने बर्ष ४० को धर्मलाल बुढा, बर्ष ३१ की मिजरा बुढा, वर्ष ४० को अम्मरसिंह बुढा, बर्ष २० की अस्मिता थापा, बर्ष २८ को जङ्गसिंह बुढा बर्ष २० को गोरख रोकाया, बर्ष २७ को लोकेन्द्र बुढा, बर्ष ९ की सुस्मा बुढा र जिप चाकल बर्ष अन्दाजी २५ का जनवीर बुढा, गरी नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।
हिमाली गाउँपालिका वडा –२ नातीखोला बस्ने अन्दाजी वर्ष २५ का जनवीर बुढाले चलाएको जिप सडकको माथिल्लो मोडबाट अन्दाजी १० मिटर तल खसेको छ । जिप दुर्घटना हुँदा चालकसहित अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए ।
“घाइतेहरुको कसैको ढाड टाउको कम्मर र हात खु्ट्टामा चोट लागेको छ । उनले भने एक्बुलेन्सको व्यवस्था गरी उपचारका लागि अहिले धुलाचौर र कोल्टी अस्पतालमा पठाइएको छ ।”
चारजना मध्यम अवस्थाका घाइते भए पनि अन्य पाँच जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी शाहीले बताए ।
