धनगढी, २४ असार / १६ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जितेर वडा तथा जिल्लाको गौरव बढाएका खेलाडी र प्रशिक्षकलाई धनगढी उपमहानगरपालिका–७ नम्बर वडा कार्यालयले सम्मान गरेको छ।
वडा कार्यालय परिसरमा आयोजना गरेको सम्मान कार्यक्रममा पदक विजेता खेलाडीलाई ट्र्याकसुट, सम्मान–पत्र र दोसल्ला प्रदान गरिएको हो । खेलाडी तथा प्रशिक्षक समूहको मनोबल उच्च बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।
सम्मानित हुने खेलाडीमा दिपिका चौधरी (छात्र–६ वटा), काजल बोहरा (छान–६ वटा), प्रज्वल भण्डारी (छान–६ वटा), विशाल राना (४२ केजी), सृजना वि.सी. (४५ केजी) र दिक्षा साउद (४२ केजी) स्वर्ण पदक विजेता रहेका छन्। दिक्षा साउदले १४औँ र १५औँ संस्करणमा पनि स्वर्ण पदक जितेकी थिइन्।
यस्तै, जासुका चौधरी (थाईची–६ वटा), शिरिष श्रेष्ठ (थाईची–६ वटा) र सरिता ल्वार (४२ केजी) रजत पदक विजेता हुन् भने मिलन ओखेडाले छात्र–६ वटा विधामा कास्य पदक जितेका छन्।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी अशोक राना, उसु प्रशिक्षक रतन ब. खाती, स्वयंसेवक प्रशिक्षक एलिशा खाती तथा स्वयंसेवक प्रशिक्षक पदम ब. ठकुल्लालाई पनि सम्मान गरिएको छ।
कार्यक्रमको सभापतित्व वडा नम्बर ७ का अध्यक्ष मोती राना थारुले गरेका थिए । प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य प्रमोद मल्ल तथा विशिष्ट अतिथिका रूपमा नेपाल उसु महासंघका केन्द्रीय सह–कोषाध्यक्ष राजीव गुप्ता सहभागी थिए ।
वडा सदस्य वासुदेव राना र बिकेराम पातीसहित थ्री स्टार ई.बो. स्कूलका प्रधानाध्यापक गोपाल शर्मा, शिव माध्यमिक विद्यालय देवहरियाका प्रधानाध्यापक नन्दलाल राना, द दरबार स्कुल उर्माका प्रधानाध्यापक पृथ्वी शाह तथा एरिस्टो ई.बो. स्कूलका खेल शिक्षक दर्शन थापालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन वडा सचिव कृष्णानन्द भट्टले गरेका थिए ।यस वर्ष राष्ट्रपति रनिङ शिल्डमा उसु खेलले ऐतिहासिक सफलता हासिल गरेपछि खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।