धनगढी, २२ असार / महिला उद्यमीलाई डिजिटल प्रविधिमैत्री बनाउँदै व्यवसाय विस्तारमा सहयोग पुर्याउने उद्देश्यले धनगढीमा दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। तालिममा व्यवसाय योजना निर्माण, डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र साइबर सुरक्षासम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान भइरहेको छ।
कैलाली उद्योग वाणिज्य संघको आयोजना तथा युएन ओमनको सहकार्यमा सञ्चालन भएको तालिमको उद्घाटन धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले आइतबार गरिन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख रानाले महिला उद्यमशीलताको भविष्य प्रविधिसँग जोडिएको बताइन्। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन डिजिटल प्लेटफर्मको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै उनले महिलाले आधुनिक प्रविधिको उपयोगमार्फत आफ्नो व्यवसायलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिइन्। उनले पैत्रिक सम्पत्तिमा पहुँच, आर्थिक अवसर र सामाजिक संरचनाका कारण महिलाले अझै चुनौती सामना गरिरहेको उल्लेख गर्दै यस्ता तालिमले आत्मविश्वास र नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
तालिममा युएन ओमनका सुदीप भट्टराई र प्रदेश प्रमुख प्रतिभा चौधरीले व्यवसाय योजना, उत्पादनको बजारीकरण, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन तथा साइबर सुरक्षाका विषयमा सहजीकरण गरिरहेका छन्। सहभागीलाई अनलाइन व्यवसाय प्रवर्द्धन, डिजिटल ब्रान्डिङ तथा साइबर जोखिमबाट सुरक्षित रहने उपायबारे व्यवहारिक अभ्याससमेत गराइने जनाइएको छ।
संघका उपाध्यक्ष केशवराज जोशीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई स्थानीय तथा ग्रामीण क्षेत्रमा विस्तार गर्न सके महिला उद्यमशीलताको दायरा फराकिलो हुने र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवरले महिलाको सीप, उत्पादन र उद्यमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले आगामी दिनमा पनि महिला उद्यमीलाई लक्षित क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिइने बताए।
कार्यक्रमका अध्यक्ष तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले महिला उद्यमशीलता आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै संघले महिला, युवा तथा नवउद्यमीको क्षमता विकास र बजार पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशकी सदस्य कृष्णा विष्टसहित विभिन्न क्षेत्रका महिला उद्यमीहरूको सहभागिता रहेको थियो।