धनगढी, २१ असार / कैलाली बहुमुखी क्याम्पसका बीएएलएलबी चौथो सेमेस्टरमा अध्ययनरत तीन विद्यार्थीले राष्ट्रियस्तरको सातौँ ‘बीआरयू मूट कोर्ट प्रतियोगिता’मा सहभागिता जनाएका छन्।
ललितपुरमा आयोजित प्रतियोगितामा क्याम्पसका हरिश प्रसाद कपाडी, ममता रोकाया र सन्ध्या श्रेष्ठले क्याम्पसको प्रतिनिधित्व गरेका हुन्। प्रतियोगिताको आयोजना पायोनियर ल एसोसिएसनले सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीको स्मृतिमा गरेको हो।
कानुन अध्ययनरत विद्यार्थीमा अनुसन्धान, तार्किक विश्लेषण, बहसकला तथा व्यावहारिक कानुनी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा देशभरका विभिन्न शैक्षिक संस्थाका टोलीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताका क्रममा कैलाली बहुमुखी क्याम्पसको टोलीले काल्पनिक कानुनी विवादमा आधारित मुद्दामा अदालतको प्रक्रिया अनुरूप लिखित बहस तथा मौखिक बहस प्रस्तुत गर्दै आफ्नो कानुनी ज्ञान, तार्किक क्षमता र प्रस्तुतीकरण कौशल प्रदर्शन गरेका थिए।
प्रतियोगितामा सहभागिताले विद्यार्थीहरूलाई कानुनी अनुसन्धान, सार्वजनिक वक्तृत्वकला, तार्किक विश्लेषण तथा व्यावहारिक कानुनी सीप विकास गर्ने अवसर प्रदान गरेको क्याम्पसले जनाएको छ।