धनगढी , २१ असार / बैतडीको पाटन नगरपालिका–६ निवासी तथा पाटन नगरपालिका–५ मा अहेबका रूपमा कार्यरत हेमन्त भण्डारी अत्तरिया हस्पिटलमा गरिएको मुटुको शल्यक्रियापछि गम्भीर अवस्थामा पुगेका छन्। हाल भारतको रुद्रपुरस्थित मेडिसिटी हस्पिटलमा उनको भेन्टिलेटरमार्फत उपचार भइरहेको छ। परिवारले उपचारका क्रममा चिकित्सकीय लापरवाही भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
परिवारका अनुसार छाती दुख्ने समस्या देखिएपछि भण्डारी सुरुमा डडेल्धुरा अस्पताल पुगेका थिए। त्यहाँ गरिएको ईसीजी परीक्षणपछि उनलाई थप उपचारका लागि कैलालीस्थित अत्तरिया हस्पिटल रिफर गरिएको थियो। अस्पताल पुगेलगत्तै थप परीक्षण वा विस्तृत स्वास्थ्य मूल्याङ्कन नगरी तत्काल मुटुको शल्यक्रिया गर्ने निर्णय गरिएको परिवारको आरोप छ।
भण्डारीका दाजु उत्तम भण्डारीका अनुसार शल्यक्रियाअघि बिरामीको अवस्था सामान्य थियो। परिवारका सदस्य आउँदासम्म केही समय पर्खिन आग्रह गर्दा पनि चिकित्सकले ‘ढिलाइ गर्दा जोखिम बढ्छ’ भन्दै तत्काल शल्यक्रिया गरेको उनले बताए।
परिवारको दाबीअनुसार शल्यक्रियापछि आईसीयूमा राखिएका भण्डारीलाई आवश्यक स्तरको निगरानी नदिँदा पुनः मुटुको धड्कनमा गम्भीर समस्या (भिटी) देखिएको थियो। यस्तो अवस्थामा तत्काल उपचार आवश्यक भए पनि समयमै उपचार हुन नसक्दा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको परिवारको आरोप छ।
‘शल्यक्रियापछि भाइको अवस्था सामान्य थियो। तर आईसीयूमै भिटी भयो। यस्तो अवस्थामा तत्काल उपचार हुनुपर्ने हो,’ उत्तम भण्डारीले भने, ‘समयमै उपचार नहुँदा अहिले उहाँ जीवन–मृत्युको दोसाँधमा पुग्नुभएको छ।’
यता अत्तरिया हस्पिटलले भने उपचारमा कुनै लापरवाही नभएको जनाएको छ। उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डाक्टर विप्लव कार्कीका अनुसार भण्डारी अस्पताल पुग्दा नै मेजर हृदयाघातको अवस्थामा थिए। त्यसैले तत्काल शल्यक्रिया गर्नु चिकित्सकीय रूपमा आवश्यक भएको उनको भनाइ छ।
कार्कीका अनुसार शल्यक्रियापछि अर्को बिहान अचानक मुटुको धड्कनमा समस्या देखिएपछि तत्काल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मुटुको अवस्था सुधारिए पनि होस नखुलेपछि थप उपचारका लागि काठमाडौं वा उच्चस्तरीय केन्द्रमा लैजान सल्लाह दिइएको थियो। त्यसपछि परिवारले उनलाई भारतको रुद्रपुरस्थित मेडिसिटी हस्पिटल पुर्याएको हो।
हाल भण्डारीको अवस्था गम्भीर रहे पनि उपचार जारी छ। परिवारले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै चिकित्सकीय लापरवाही पुष्टि भए कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
अस्पताल र परिवारबीच फरक–फरक दाबी रहेको छ ।