धनगढी, २० असार / नियमित रूपमा महेन्द्रनगरस्थित क्यासिनो आउने एक भारतीय नागरिकको शंकास्पद अवस्थामा मृत्यु भएको छ। भारतको उत्तराखण्डस्थित रानीखेत (अल्मोरा) निवासी ५३ वर्षीय दीपेन्द्र सिंहको महेन्द्रनगरको डायमण्ड क्यासिनोमा स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि मृत्यु भएको हो।
सीमावर्ती स्रोतका अनुसार सिंह जुवा खेल्न नियमित रूपमा महेन्द्रनगर आउने गर्थे। दुई दिनअघि पनि उनी डायमण्ड क्यासिनो पुगेका थिए। दिनभर क्यासिनोमा समय बिताएका उनको राति करिब १०:३० बजे स्वास्थ्य अवस्था अचानक बिग्रिएको बताइएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि क्यासिनो प्रशासनले तत्काल उनलाई महाकाली प्रादेशिक अस्पताल पुर्याएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका चर्चा सुरु भएका छन्। केहीले क्यासिनोमा उपलब्ध गराइने मदिराको गुणस्तरमाथि प्रश्न उठाइरहेका छन् भने केहीले बन्द वातावरण, ध्वनि प्रदूषण तथा धूम्रपानको असरका कारण स्वास्थ्यमा समस्या आएको हुन सक्ने अनुमान गरेका छन्। यद्यपि, यी सबै दाबीको आधिकारिक पुष्टि भएको छैन।
नेपाल प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट र अनुसन्धानको निष्कर्ष आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्नेछ।
प्रहरीको जानकारीअनुसार मृतकका आफन्त भारतको रानीखेतबाट महेन्द्रनगर आइपुगेका छन्। प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान भइरहेको जनाएको छ।