धनगढी, १६ असार / कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिले सञ्चालन गरेको बस शुक्रबार बिहान आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका-१३ गेटाका ४२ वर्षीय हरीसिंह महरासहित बैतडी, डोटी, कैलाली, डडेल्धुरा, बझाङ, दार्चुला र चितवनका २२ जना यात्रु घाइते भएका छन्। उनीहरूको टाउको, हात, खुट्टा, छाती, कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेहरूको जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचार गरिएको छ। थप उपचार आवश्यक रहेका बिरामीलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित ४६ जना सवार रहेकोमा दुर्घटनामा घाइते नभएका २४ यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको छ।
दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सडकमा दुवैतर्फको यातायात पुनः सञ्चालनमा आएको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेमा चालक हरीसिंह महरासहित चक्रबहादुर रोकाया, भरत मल्ल, विमल भट्ट, सीतादेवी बादी, नरेन्द्र ताम्राकार, आलिया ताम्राकार, दुई वर्षीय सुदर्शन ताम्राकार, विनोद सत्कुली, लोचन बिष्ट, कृष्णबहादुर बिष्ट, गणपति भागरी, अखिलकुमार ठडिया, भद्रकृष्ण मिश्र, गोपाल पौडेल, केशबहादुर देउवा, प्रभानन्द ठकुन्ना, दीपिका भण्डारी, प्रकाश रोकाया, किश्वर बोहोरा र पार्वती बोहोरा रहेका छन्।