धनगढी , ९ असार / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन २०८३ मा केन्द्रीय सदस्य (भूगोलतर्फ सुदूरपश्चिम) पदका लागि बैतडी जिल्लाको पाटन नगरपालिका–४ निवासी मदन सिंह बिष्ट उम्मेदवार बनेका छन्।
पूर्व एसएसपीसमेत रहेका बिष्ट हाल रास्वपाको सुदूरपश्चिम गुनासो विभाग प्रमुख को जिम्मेवारीमा सक्रिय छन्। लामो समय सुरक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका बिष्टले संगठनभित्र पारदर्शिता, जवाफदेहिता र जनमुखी राजनीतिक अभ्यासलाई प्राथमिकता दिँदै उम्मेदवारी घोषणा गरेका हुन्।
असार ७, ८ र ९ गते चितवनमा भैरहेको महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका मुद्दा तथा जनताको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धतासहित आफू उम्मेदवार बनेको बिष्टले बताएका छन्।
उनले संगठनलाई अझ सुदृढ, अनुशासित र जनउत्तरदायी बनाउने तथा पार्टीभित्र सदस्यहरूको गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने आफ्नो योजना रहेको उल्लेख गरेका छन्।
“राष्ट्रका लागि सोच, परिवर्तनका लागि संगठन र जनताका लागि समर्पण” भन्ने नारासहित बिष्टले आफ्नो उम्मेदवारीलाई सफल बनाउन महाधिवेशन प्रतिनिधि तथा सदस्यहरूलाई समर्थनका लागि आग्रह गरेका छन्।