धनगढी, २ असार / कञ्चनपुरको बेलौरी नगरपालिका – १० मा निर्माण भएको थनुवा मन्दिर निर्माण भवनमा कमसल (दोयम)इँटा प्रयोग भइरहेको पाइएको छ । सिक्री कुण्डा स्थित भुइपाल मन्दिर परिसरमा निर्माण भइरहेको भवनमा दोयम इँटा प्रयोग भइरहेको हो ।
यही असार मसान्तसम्म सक्ने गरी प्रदेश सरकार मार्फत भवन निर्माणको काम भइरहेको छ । काम छिटो सक्ने दाउमा निर्माण कम्पनीले भवनमा कमसल सामाग्री प्रयोग भएको स्थानीयले आरोप लगाएका छन् । भवन निर्माण भइरहेको स्थलमा सुचनाबोर्ड समेत नराखिएको हुँदा स्थानीयहरूले आपत्ति जनाएका छन् ।
जेठ २७ गते धनगढीको बिएस बिल्डर्सले भवन निर्माणको जिम्मा पाएको योजनाको साइट हेर्ने बेलौरी नगरपालिकाका सब इन्जिनियर नरेन्द्र चन्दले बताए । उनका अनुसार भवन निर्माणका लागी भ्याट सहित ९ लाख ६२ हजारमा कम्पनी सङ्ग सम्झौता भएको हो ।
चन्दले कमसल सामग्री प्रयोग भएको जानकारी पाएपछि थप काम रोकिएको बताए । उनले त्यहाँको मेटिएरयल प्रयोग नगरी नयाँ ल्याई काम गर्न निर्माण कम्पनीलाई जानकारी गराएको बताए । चन्दका अनुसार ठेकेदारले सूचना बोर्ड छपाउन ढिलो भएकोले नलागेकोले केही दिनमै निर्माण कार्यस्थलमा लाग्ने छ ।