धनगढी, १ असार / बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा बालबालिकामा लगानी अभिवृद्धि गर्ने उद्देश्यले “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय सरकारले नीति तथा कार्यक्रम निर्माण गर्दा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्नुपर्ने, बालमैत्री योजना तथा कार्यक्रम सञ्चालन गर्न पर्याप्त स्रोत सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिइएको थियो। सहभागीहरूले बालबालिकामा गरिएको लगानीले दीर्घकालीन रूपमा समृद्ध र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, बालबालिका शाखामा कार्यरत कर्मचारीहरू तथा सुदूरपश्चिम बाल सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बाल अधिकारको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको भूमिका थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, संरक्षण र सहभागितालाई केन्द्रमा राखेर नीति तथा बजेट तर्जुमा गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा बालबालिकामैत्री शासन प्रणालीको विकास र बाल अधिकारसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकारको प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशको आयोजनमा, सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीको समन्वयमा तथा Save the Children र Sweden/Sverige को सहयोगमा आयोजित कार्यक्रमले बालबालिकामा लगानी बढाउँदै उनीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न स्थानीय तहहरूबीच साझा समझदारी निर्माण गरेको आयोजकले जनाएको छ।