कञ्चनपुर, ३० जेठ / विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय युवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पुनर्वास नगरपालिकामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत ‘विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम’ सुरु गरिएको छ।
पुनर्वास नगरपालिकाको समन्वयमा मर्सी कोर नेपाल, द कोका–कोला फाउन्डेसन, सेवक नेपाल कैलाली, एनएनएसडब्लुए तथा एमरेड परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको सातदिने तालिमको उद्घाटन पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदम रोकायाको अध्यक्षतामा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा नगर प्रमुख तोयप्रसाद शर्मा प्रमुख अतिथि तथा नगर उपप्रमुख भुलियाकुमारी राना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, मर्सी कोर नेपालका प्रतिनिधि लक्ष्मी अवस्थी, प्रशिक्षकद्वय दलबहादुर ओली र खगेन्द्र जोशी, सञ्चारकर्मी तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।
पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटल एण्ड रेस्टुरेन्टको सभाहलमा सञ्चालन भइरहेको तालिममा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा स्वयंसेवक परिचालनसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख रानाले विपद्को उच्च जोखिम रहेका क्षेत्रका युवाहरूको उल्लेखनीय सहभागिताले तालिमको प्रभावकारिता बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय स्तरमै दक्ष स्वयंसेवक तयार गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
मर्सी कोर नेपालका प्रतिनिधि अवस्थीले समुदायसँग सहकार्य गर्दै स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गर्दै तालिमले समुदायको विपद् व्यवस्थापन क्षमता थप सुदृढ बनाउने अपेक्षा व्यक्त गर्नुभयो।
प्रमुख अतिथि नगर प्रमुख शर्माले पुनर्वास नगरपालिकाले विगतदेखि बाढीजन्य विपद्को चुनौती सामना गर्दै आएको स्मरण गराउँदै यस्ता तालिमले स्थानीय युवालाई विपद्का बेला प्रभावकारी रूपमा परिचालन गर्न सकिने दक्ष स्वयंसेवकका रूपमा विकास गर्ने बताउनुभयो। उहाँले विपद् सचेतना अभिवृद्धि र जोखिममा रहेका समुदायको सुरक्षाका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
सामाजिक उत्तरदायित्वका कार्यक्रममा युवाहरूको स्वस्फूर्त सहभागिता प्रशंसनीय रहेको उल्लेख गर्दै नगर प्रमुख शर्माले विपद् व्यवस्थापनमा युवाशक्तिको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
सात दिनसम्म सञ्चालन हुने उक्त तालिम आगामी असार ४ गते समापन हुने जनाइएको छ। कार्यक्रमको सञ्चालन पुनर्वास नगरपालिकाका विपद् फोकल पर्सन ओमनाथ ढकालले गर्नुभएको थियो