धनगढी, २८ जेठ / जोरायल गाउँपालिका–१ गोगनपानीस्थित श्री जनता आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्षमा कवि राम खत्री निर्विरोध चयन भएका छन् । विद्यालयमा सम्पन्न व्यवस्थापन समिति गठन प्रक्रियाबाट उनी अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका हुन्।
विद्यालय व्यवस्थापन समिति विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक विकाससँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण निकायका रूपमा परिचित छ। अध्यक्षमा खत्री निर्विरोध चयन भएसँगै विद्यालयको समग्र विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा विद्यालय र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय अभिभावक, शिक्षक, बुद्धिजीवी तथा समाजसेवीहरूले खत्रीको नेतृत्वमा विद्यालयले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्। लामो समयदेखि सामाजिक, साहित्यिक तथा शैक्षिक गतिविधिमा सक्रिय रहँदै आएका खत्रीको नेतृत्वले विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धि तथा आवश्यक भौतिक पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष कवि राम खत्रीलाई स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्। गोगनपानी क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको श्री जनता आधारभूत विद्यालयले नयाँ नेतृत्वसँगै थप प्रगति हासिल गर्ने अपेक्षा गरेको छ ।