धनगढी, २५ जेठ / सुदूरपश्चिम प्रदेशमा पहिलोपटक राष्ट्रियस्तरको प्रतिभा प्रतियोगिता ‘द ट्यालेन्ट्स अफ नेपाल’ आयोजना हुने भएको छ। कला, संस्कृति, साहित्य, सञ्चार तथा प्रतिभा विकासका क्षेत्रमा क्रियाशील संस्था कलोसन पव्लिकेशन प्रा.लि.ले प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ।
आयोजकका अनुसार नेपालभर रहेका तथा ओझेलमा परेका प्रतिभाहरूको खोजी, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगितामार्फत विभिन्न क्षेत्रका प्रतिभालाई एउटै मञ्चमा ल्याई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ।
प्रतियोगितामा गायन, नृत्य, अभिनय, वाद्यवादन, चित्रकला, कविता वाचन, मोडलिङ, लोकगीत, लोकनृत्य, मार्सल आर्ट, जादुकला, हस्तकला, मिमिक्री, स्टेज पर्फमेन्स, हेयर स्टाइलिङ, मेकअप आर्ट, बिटबक्स, र्याप, हिपहप, साइकल स्टन्ट, स्केटिङ, कमेडी प्रस्तुति, एङ्करिङ तथा अन्य सिर्जनात्मक विधाका प्रतिभाहरूले सहभागिता जनाउन सक्नेछन्।
कार्यक्रम तीन चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा अडिसन राउण्डमार्फत प्रारम्भिक छनोट गरिनेछ भने दोस्रो चरणमा अनलाइन भिडियो राउण्ड सञ्चालन हुनेछ। उत्कृष्ट प्रतिस्पर्धीहरूलाई ग्राण्ड फिनालेमा सहभागी गराई अन्तिम विजेता घोषणा गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले रु.१०० फाराम शुल्क तिर्नुपर्नेछ भने अनलाइन भिडियो राउण्डका लागि रु. १,००० शुल्क निर्धारण गरिएको छ। प्रतियोगिताले सहभागीलाई राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने, विशेषज्ञसँग सिक्ने तथा व्यक्तिगत र व्यावसायिक पहिचान निर्माण गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।
प्रतियोगिताको विजेताले नगद रु.२ लाख, ४ फिट अग्लो ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। यसैगरी उत्कृष्ट २५ जना प्रतिस्पर्धीलाई जनही रु. ५ हजार नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। उत्कृष्ट पाँच प्रतिभाशाली सहभागीलाई छात्रवृत्तिको विशेष व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम निर्देशक दीप श्रेष्ठ र प्रबन्ध निर्देशक सुष्मा श्रेष्ठले सुदूरपश्चिमबाट सुरु हुन लागेको यो प्रतियोगिताले प्रदेश तथा देशभरका प्रतिभालाई राष्ट्रिय पहिचान दिलाउन, कला-संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न र नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।