धनगढी, १९ जेठ / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई संसदीय दल नेताबाट हटाउन हस्ताक्षर गरेकी नेपाली कांग्रेसकी सांसद डम्मरी महराले आफ्नो निर्णय फिर्ता लिएकी छन् । मङ्गलबार पत्रकार सम्मेलन गर्दै महराले मुख्यमन्त्री शाहविरुद्धको अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गरेकी हुन्।
महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएकी छन् । शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
यसअघि मुख्यमन्त्री शाहविरुद्ध आफ्नै दलका ९ जना सांसदले संसदीय दलको नेता परिवर्तनका लागि हस्ताक्षर बुझाएका थिए । तर, हस्ताक्षर गर्नेमध्येकी महराले निर्णय फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई पद जोगाउन केही राहत मिलेको छ। ‘सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएकोले मेरो हस्ताक्षर फिर्ता लिएको व्यहोरा जानकारीका साथै मेरो पूर्ण समर्थन माननीय मुख्यमन्त्री तथा संसदीय दलको नेता कमल बहादुर शाहज्यूलाई नै रहेको जानकारी गराउँदछु,’उनले भनिन्।
