कैलाली, १३ जेठ / कैलाली जिल्लाको कैलारी गाउँपालिका क्षेत्रमा “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन अभ्यास मनसुन-६” कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति र श्री देवीदल गणको संयुक्त आयोजनामा सम्पन्न उक्त अभ्यास कार्यक्रम कैलारी गाउँपालिकास्थित कोईलही ताल क्षेत्रमा गरिएको हो।
मनसुनको समयमा हुन सक्ने बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्का घटनालाई लक्षित गर्दै सुरक्षाकर्मी, स्थानीय निकाय तथा सरोकारवाला निकायबीच समन्वय र उद्धार क्षमताको परीक्षण गर्न अभ्यास आयोजना गरिएको कैलाली जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो।
अभ्यासका क्रममा विपद्को अवस्थामा खोज तथा उद्धार, राहत वितरण, प्रभावित नागरिकको सुरक्षित स्थानान्तरण र समन्वयात्मक कार्यशैलीबारे प्रदर्शन गरिएको थियो । ताल क्षेत्र आसपास अभ्यास गरेर बाढी तथा जलजन्य विपद्को पूर्वतयारीलाई बिशेष प्राथमिकता दिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो।
कार्यक्रमले मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।