धनगढी, ३० चैत / धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत नगरस्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई सम्मान गरेको छ।
उपमहानगरपालिकाको कार्यालय, धनगढीबाट सम्मान–पत्र सहित आज सम्मानित भएको छ । धनगढी–६ मटियारीस्थित श्री पञ्चकोटी विद्या निकेतनले १०० प्रतिशत नतिजा हासिल गर्दै नगरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको हो। सो उपलब्धिको कदर गर्दै विद्यालयलाई सम्मान–पत्र प्रदान गरिएको जनाइएको छ।
नगर प्रमुख गोपाल हमाल र उप–प्रमुख कन्दकला कुमारी रानाले विद्यालयलाई हासिल गरेको उपलब्धिप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सिकाइ उपलब्धि कायम राख्न शुभकामना व्यक्त गरेका थिए।
नगरभित्र गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन गर्ने कार्यले अन्य विद्यालयलाई समेत प्रतिस्पर्धात्मक र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।