धनगढी, २८ चैत / डोटीको बडिकेदार गाउँपालिकाले ग्रामीण बस्तीमा सुरक्षित आवास सुनिश्चित गर्ने लक्ष्यसहित सञ्चालन गरेको “खरमुक्त छाना” अभियानलाई तीव्रता दिएको छ। परम्परागत खरको छानाबाट हुने जोखिम न्यूनीकरण गर्दै आधुनिक र सुरक्षित आवासतर्फ उन्मुख गराउने उद्देश्यले गाउँपालिकाले जस्तापाता वितरण कार्यलाई प्राथमिकताका साथ अघि बढाएको हो।
गाउँपालिकाका अनुसार विपन्न, जोखिममा रहेका तथा अझै खरको छाना भएका घरपरिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण भइरहेको छ। आगलागी, वर्षा तथा हावाहुरीजस्ता प्राकृतिक प्रकोपका कारण खरको छाना असुरक्षित हुने भएकाले सुरक्षित आवास निर्माणलाई अभियानको मुख्य लक्ष्य बनाइएको जनाइएको छ।
जनप्रतिनिधिहरूले यस अभियानले गाउँमा हुने आगलागीको जोखिम न्यूनीकरण गर्नुका साथै स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। वडास्तरबाट लाभग्राही छनोट गरी मापदण्ड पूरा गरेका घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको छ भने छाना निर्माणका लागि आवश्यक प्राविधिक सल्लाहसमेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय बासिन्दाले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसले आफूहरूको दैनिकीलाई सुरक्षित र सहज बनाएको बताएका छन्।
गाउँपालिकाका उपाध्यक्ष डम्बरि विष्ट कलेलका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म १५० घरधुरीलाई जस्तापाता वितरण गरिएको छ। अभियानलाई आगामी दिनमा थप विस्तार गर्ने योजना रहेको पनि गाउँपालिकाले जनाएको छ।
