धनगढी, २० चैत / धनगढीलाई मोनोरेल चल्ने सहर बनाउने सपना बाँडेका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा यतिबेला भने अमेरिकामै रमाइरहेको चर्चा चुलिएको छ। निर्वाचनताका आकर्षक योजना सार्वजनिक गर्दै मतदातालाई आशावादी बनाएका देउवा अहिले लामो समयदेखि सम्पर्कविहीन जस्तै भएपछि उनीप्रति प्रश्न उठ्न थालेका छन्।
गत भदौमा भएको ‘जेनजी’ आन्दोलनको बीचमा चुपचाप अमेरिका उडेका देउवा करिब सात महिनासम्म पनि स्वदेश नफर्किएपछि उनको भूमिकामाथि चासो बढेको हो। कैलाली क्षेत्र नम्बर ५ (२) का मतदाताहरू आफ्नो क्षेत्रका मुद्दा उठाउने जिम्मेवारी बोकेको जनप्रतिनिधि नै विदेश बसिरहेको भन्दै असन्तुष्टि जनाउन थालेका छन्।
निर्वाचन अभियानका क्रममा देउवाले धनगढीको मुहार फेर्ने, आधुनिक पूर्वाधार विकास गर्ने र मोनोरेल सञ्चालन गर्ने जस्ता महत्वाकांक्षी योजना अघि सारेका थिए। प्रदेशको भौतिक पूर्वाधार मन्त्री रहँदा उनले मुख्य सडक विस्तारका लागि बजेट विनियोजन गराए र केही कामसमेत अघि बढे। तर पछिल्लो समय उनी नै देशबाहिर रहेपछि ती योजनाको भविष्य अन्योलमा परेको छ।
प्रदेशसभा सदस्य जस्तो जिम्मेवार पदमा रहेर लामो समयसम्म अनुपस्थित रहनुले कानुनी प्रश्नसमेत उठाएको छ। सुदूरपश्चिम प्रदेश सभा नियमावली २०८० अनुसार कुनै सदस्य लगातार १० बैठकमा सूचनाविना अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था छ। देउवा अनुपस्थित रहेपछि हालसम्म सात बैठक सम्पन्न भइसकेका छन्। अझै तीन बैठकमा अनुपस्थित भएमा उनको पद नै जोखिममा पर्ने देखिन्छ।
देउवा अमेरिकामा रहेको चर्चा भए पनि उनको पार्टी नेपाली कांग्रेस वा प्रदेशसभा सचिवालयसँग औपचारिक जानकारी छैन। कांग्रेसका एक नेताका अनुसार उनी जाने बेला समेत औपचारिक जानकारी नदिएको बताइन्छ।
यता देउवा परिवारका सदस्यहरूको विदेश आवागमन पनि पछिल्लो समय बढेको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवा स्वास्थ्य उपचारपछि हाल हङकङमा रहेका छन् भने परिवारका अन्य सदस्यहरू पनि विदेशमै बसोबास गरिरहेका छन्।
यसबीच, धनगढीमा मोनोरेल चलाउने सपना देखाएका देउवा आफैं भने अमेरिकामै रमाइरहेका छन् भन्ने चर्चा जनस्तरमा व्यापक बन्दै गएको छ।