धनगढी, १४ चैत/नेपाली कांग्रेस कैलालीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
कांग्रेस जिल्ला कार्यसमिति कैलालीका सभापति नारायणदत्त भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरी पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको भन्दै कडा निन्दा गरिएको छ। विज्ञप्तिमा उक्त कदमले देशमा द्वन्द्व बढाउने र राजनीतिक प्रतिशोधको संकेत दिने उल्लेख गरिएको छ।
जिल्ला कार्यसमितिले सरकारलाई छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न तथा पक्राउ परेकालाई अविलम्ब रिहा गर्न माग गरेको छ। साथै, यस्तो गतिविधिले कानुनी राज्य र विधिको शासनको उपहास गरेको भन्दै सरकारलाई संयम अपनाउन आग्रह गरिएको छ।
कांग्रेसले संवाद र सहकार्यको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै लोकतान्त्रिक मूल्य(मान्यताको रक्षा गर्न सबै पक्षलाई आह्वान गरेको छ।
