धनगढी १४ चैत/कैलाली जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रदेश तथा जिल्ला सुरक्षा समिति कैलालीको संयुक्त बैठकले जिल्लाको सुरक्षा व्यवस्था थप मजबुत बनाउने निर्णय गरेको हो।
शनिबार बिहान सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी किरण केसी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तेजप्रकाश जोशी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिमका निर्देशक किशोर कुमार श्रेष्ठ लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकले हाल जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य रहेको निष्कर्ष निकालेको छ। तर, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायबीच आपसी समन्वयलाई सुदृढ गर्दै उच्च सतर्कताका साथ परिचालन हुने निर्णय गरिएको छ।
देशको पछिल्लो बदलिँदो राजनीतिक परिस्थितिका कारण उत्पन्न हुनसक्ने विरोध प्रदर्शन, जुलुस तथा अन्य गतिविधिले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले सुरक्षा निकायलाई विशेष सतर्क रहन निर्देशन दिइएको छ।
विशेषगरी पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीको पक्राउसँग सम्बन्धित घटनाक्रमलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूमा निगरानी, चेकजाँच तथा अन्य सुरक्षा रणनीतिहरू कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ। बैठकमा कैलालीका विभिन्न सुरक्षा तथा प्रशासनिक निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।