धनगढी ११ चैत/नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले पार्टीभित्र आत्मालोचना, एकता र त्यागको भावनालाई बलियो बनाउनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले काङ्ग्रेसलाई जिम्मेवार, गतिशील र लोकतान्त्रिक पार्टीको रूपमा अघि बढाउन सबै नेता–कार्यकर्ताले स्वार्थ त्याग्नुपर्ने बताएका हुन्।
उनले भने, “नेपाली काङ्ग्रेस पार्टी झण्डै ८ दशक पार गरेको जीवन्त, गतिशिल, जिम्मेवार र देश र जनतालाई सर्वोपरीमा राखि अगाडी बढ्ने लोकतान्त्रीक खरो पार्टी हो।” डा रावलले सामाजिक सञ्जालमा व्यक्तिपूजा गर्ने प्रवृत्तिको आलोचना गर्दै धरातलमा उभिएर आत्मालोचना गर्नुपर्ने आवश्यकता औंल्याए। “कसैलाई फेसबुक र सामाजिक सञ्जालमा देवत्वकरण गराएर रमाउनुको सट्टा धरातलमा टेकेर आत्माअलोचना गरी देश र जनताको हितलाई अर्जुन दृष्टि राख्नुपर्छ,” उनले भने।
उनका अनुसार काङ्ग्रेसको वर्तमान अवस्था केवल केही व्यक्तिको दबदबाले बनेको नभई विगतका त्याग, तपस्या र सबै तहका व्यक्तिहरूको योगदानले सम्भव भएको हो। उनले पार्टीभित्र देखिएको आपसी आरोप–प्रत्यारोपले संगठन कमजोर बन्ने चेतावनी दिए। “सबै खाले स्वार्थ, कुण्ठा, लोभ र महत्वाकांक्षा त्यागेर असहज अवस्थामा एकले अर्कालाई हिलो छ्यापेर कहीँ पुगिँदैन,” रावलले उल्लेख गरे।
डा। रावलले बी पी कोइराला को भनाइ स्मरण गर्दै निर्णय गर्दा देश र जनताको हितलाई केन्द्रमा राख्न आग्रह गरे। “कुनै निर्णय गर्न अप्ठ्यारो भए एक मुठी माटो हातमा लिएर देश र जनतालाई सम्झेर निर्णय लिनु,” भन्ने कोइरालाको भनाइ अहिले पनि सान्दर्भिक रहेको उनले बताए।
समाप्तिमा उनले सबै नेता–कार्यकर्तालाई व्यक्तिगत अहंकार र हट त्यागेर पार्टीलाई एकताबद्ध बनाउँदै चुनौती सामना गर्न आह्वान गरे। डा रावल नेपाली काँग्रेसको १४ औ महाअधिबेशनका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पुर्वमन्त्री समेत हुन् ।