कैलाली , ९ चैत / लम्कीचुहा नगरपालिका अन्तर्गत चुहा क्षेत्रमा प्रादेशिक अस्पताल सञ्चालनको माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन्। चुहा बजार व्यवस्थापन समितिको आयोजनामा आज सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष लोकबहादुर देउवाको अध्यक्षतामा स्थानीयहरूले आन्दोलनको घोषणा गरेका हुन्।
सो अवसरमा जनक वमको संयोजकत्वमा २५ सदस्यीय “अस्पताल सञ्चालनार्थ दबाबमूलक संघर्ष समिति” गठन गरिएको छ।
लम्कीचुहा नगरपालिकाद्वारा भल्कामा सञ्चालित नगर अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने गरी सुदूरपश्चिम प्रदेश सरकारले थालेको प्रक्रीयालाई लम्कीचुहा नगरपालिका नगर प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुशीला शाहीले नमान्ने अडान लिएपछि चुहामा निर्माणाधिन जनता अस्पताललाई प्रादेशिक अस्पताल बनाउन स्थानीयले माग गरेका हुन ।
नगरपालिकाकाे स्रोतसाधनबाट सञ्चालन हुदै आएको अस्पताल प्रादेशिक अस्पतालमा स्तरउन्ती हुदा आफूलाई छलफलमा सहभागी नगराई प्रदेश सरकारले एकलाैटी रूपमा प्रादेशिक अस्पताल सञ्चालनका लागि समिति समेत गठन गरी सार्वजनिक गरेकाे भन्दै नगर प्रमुख शाही असन्तुष्ट रहदै आएकी छन ।
भल्कामा रहेको नगर अस्पताल स्तउन्नतीका लागि विवाद चुलिदै गएपछि स्थानीयहरूले चुहा बजारबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको करिब ५ बिघा क्षेत्रफलमा फैलिएको, पर्याप्त भौतिक संरचना रहेको निर्माणाधीन ‘जनता अस्पताल’ क्षेत्रमा नै प्रादेशिक अस्पताल सञ्चालन गर्नुपर्ने माग अघि सारेका छन्।
संघर्ष समितिले चैत ९ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेको जनाउँदै चैत १८ गते वडा नं. ६, ८, ९ र १० का कार्यालयहरूमा तालाबन्दी गर्ने कार्यक्रम रहेको जनाएको छ। यसपछि पनि माग सम्बोधन नभए चैत २२ गते चुहा, गुलरा, गप्का र स्याउले बजारलगायतका क्षेत्रमा राजमार्ग अवरुद्ध गर्दै चक्काजाम गर्ने चेतावनी दिइएको छ।
संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
तर प्रदेश सरकारले भने लम्कीचुहा नगरपालिका अन्तर्गत रहेका भल्काकाे नगर अस्पताल र चुहामा निर्माणाधिन जनताअस्पतालाई एकीकृत गरि प्रादेशिक अस्पताल बनाउने प्रक्रीया अघि बढाएको हाे ।
यसैबीच लम्कीचुहामा प्रादेशिक अस्पताल कार्यनयनमा विवाद चुलिएपछी बर्दगाेरिया, घाेडाघाेडी र कैलारीका स्थानीयले साे प्रादेशिक अस्पताल आफ्नो क्षेत्रमा लिन कसरत थालेका छन ।