धनगढी, ५ चैत / धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्निचर खरिद कार्यमा कानुनी प्रक्रिया मिचिएको आरोप लगाउँदै स्वतन्त्र विद्यार्थी युनियनले कडा आपत्ति जनाएको छ। क्याम्पस प्रशासनले सार्वजनिक खरिदसम्बन्धी प्रचलित नियम र पारदर्शितालाई बेवास्ता गरेको भन्दै युनियनले आज क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।
युनियनका अध्यक्ष दिपक राज भट्टले जारी गरेको प्रेस विज्ञप्तिमा क्याम्पस हलका लागि फर्निचर खरिद गर्दा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुको सट्टा कोटेशनसमेत नखोली काम अघि बढाइएको उल्लेख गरिएको छ। विज्ञप्तिमा यस्तो कार्यले आर्थिक अनुशासन र संस्थागत विश्वसनीयता माथि समेत प्रश्न चिन्ह खडा भएको उल्लेख गरिएको छ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष भट्टले आफूहरूले पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। कोटेशन प्रक्रिया सार्वजनिक गर्न माग गर्दा क्याम्पस प्रमुखले तीन दिनपछि उपलब्ध गराउने आश्वासन दिए पछि प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको उनले बताए।
यसै विषयका विविध कारण देखाउँदै स्वतन्त्र विद्यार्थी युनियनले बाध्य भएर क्याम्पस प्रशासनमा ताला बन्दी गर्ने निर्णय गरेको जनाएको छ। युनियनले फर्निचर खरिद प्रक्रियाको तत्काल छानबिन, गैरकानुनी निर्णय खारेज, दोषीमाथि कारबाही तथा आगामी दिनमा सम्पूर्ण खरिद प्रक्रिया पारदर्शी र विधानअनुसार सञ्चालन गर्न माग राखेको छ।
विद्यार्थीहरूले आफ्ना मागहरू यथाशीघ्र सम्बोधन नगरिए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्। साथै, क्याम्पस प्रशासनलाई जिम्मेवार, पारदर्शी र विधिसम्मत ढंगले काम गर्न आग्रह गरिएको छ।
स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनलाई सार्वजनिक खरिद ऐन विपरीत हुनेगरी गरी काम गरेको आरोप लगाएका छन्।
यस विषयमा क्याम्पस प्रमुख नरेश पन्तसँग बुझ्दा, आफूहरूले सबै प्रक्रिया पुगाएर खरिद गरेको र विद्यार्थीहरूले माग्दा तीन दिनभित्र सबै विवरण दिने भन्दा नमानी तालाबन्दी गरेको बताए। चैत ७ गते वार्षिक उत्सव मनाउने गरी क्याम्पस तयारीमा रहेकाले उक्त सामग्री फुर्सदमा देखाउन सकिने र केही दिनपछि देखाउने भन्दा पनि वार्षिक उत्सव समेत बिथोल्ने नियतले स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको क्याम्पस प्रमुख पन्तको भनाइ छ।