धनगढी / डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्टको अध्यक्षतामा बसेको संयुक्त इजलासले मङ्गलबार फैसला सुनाएको हो । उक्त इजलासमा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ समेत सहभागी थिए । अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको प्रमाण र तथ्यका आधारमा यादवलाई दोषी ठहर गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध ७ लाख ३१ हजार रुपैयाँ बिगो कायम गर्दै गत भदौ २ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको अवस्थामा यादवलाई गत साउन ५ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
पक्राउपछि उनलाई प्रारम्भिक अनुसन्धानका लागि एक रात कञ्चनपुरस्थित अख्तियारको हिरासतमा राखिएको थियो । त्यसपछि थप अनुसन्धानका लागि केही दिन काठमाडौँस्थित अख्तियारको हिरासतमा राखेर बयान र प्रमाण संकलन गरिएको थियो । पर्याप्त प्रमाण पाएपछि अख्तियारले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले अन्ततः उनलाई दोषी ठहर गरेको हो ।
अदालतको फैसला अनुसार अब यादवलाई भ्रष्टाचारसम्बन्धी कानुनअनुसार बिगो, जरिवाना र अन्य कानुनी सजाय तोकिनेछ । सोही मुद्दामा प्रतिकूल बयान गरेको अभियोग लागेका कैलालीको चुरे गाउँपालिका– ६ बस्ने प्रेमसिंह ठगुन्ना र कैलालीको गोदावरी नगरपालिका– २ बस्ने किसनसिंह साउद पनि दोषी ठहर भएका छन् । वन अधिकृतलाई जोगाउन अदालतमा गएर फरक बयान गरेपछि आयोगले उनीहरूलाई पनि प्रतिवादी बनाएको थियो ।