धनगढी, १७ फागुन / राष्ट्रहित, सुशासन र लोकतान्त्रिक मूल्यप्रति जनविश्वास सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको ‘नेपाल प्रथम’ राष्ट्रिय अभियानले प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै डडेल्धुरामा उल्लेखनीय राजनीतिक सन्देश दिएको छ। प्रतिस्पर्धी दलका उम्मेदवारहरूलाई एउटै प्रतिबद्धताको मञ्चमा उभ्याउँदै अभियानले स्वस्थ राजनीतिक संस्कृतिको अभ्यास प्रस्तुत गरेको हो।
अभियानअन्तर्गत डडेल्धुराका प्रमुख राजनीतिक दलका उम्मेदवारहरूले संयुक्त रूपमा “निर्वाचन जनता र राष्ट्रका लागि” भन्ने मूल नारासहित प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने उम्मेदवारहरू नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र आम जनता पार्टीका तर्फबाट सहभागी भएका थिए।
प्रतिबद्धतापत्रमा राष्ट्रहितलाई सर्वोपरि राख्दै सुशासन, पारदर्शिता र जनउत्तरदायित्वमा आधारित राजनीतिक संस्कृतिको विकास गर्ने स्पष्ट अठोट व्यक्त गरिएको छ। भ्रष्टाचार उन्मूलन, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, सांस्कृतिक राष्ट्रभाव सुदृढीकरण तथा राष्ट्रिय स्वाभिमानको रक्षा जस्ता विषयलाई प्राथमिकतामा राखिएको उल्लेख छ।
उम्मेदवारहरूले व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर “नेपाल प्रथम”को अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्। विशेषगरी युवापुस्ताले उठाउँदै आएका सुशासन, पारदर्शिता र उत्तरदायित्वका सवालहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने प्रतिज्ञा गरिएको छ। राज्य संयन्त्रलाई जनउत्तरदायी बनाउने तथा भ्रष्टाचारविरुद्ध कठोर र निष्ठावान भूमिका निर्वाह गर्ने अठोट पनि व्यक्त गरिएको छ।
विदेश नीतिको सन्दर्भमा नेपाल दुई ठूला अर्थतन्त्र र सामरिक दृष्टिले महत्त्वपूर्ण राष्ट्रहरू भारत र चीनबीच अवस्थित रहेको संवेदनशील भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै दीर्घकालीन राष्ट्रिय हितअनुकूल सन्तुलित र स्वाभिमानी सम्बन्ध कायम गर्ने प्रतिबद्धता जनाइएको छ। सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ।
शिक्षा क्षेत्र सुधार, आवश्यक जनशक्ति निर्माण, गुणस्तरीय र दलीय प्रभावमुक्त शैक्षिक वातावरण निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ। समयानुकूल शिक्षानीति र पाठ्यक्रम परिमार्जन गर्दै देशको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड दिइने जनाइएको छ।
त्यस्तै, युवाशक्तिलाई स्वदेशमै अवसर र सम्मानसहित अघि बढ्ने वातावरण सिर्जना गर्न रोजगारी, सिप विकास तथा उद्यमशीलता प्रवर्द्धनमा सशक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
