चुनाव नजिकिए सँगै प्रचार प्रसार अभियानलाई तीव्र बनाउँदै उम्मेदवार
धनगढी , १७ फागुन / फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन नजिकिए सँगै उम्मेदवारहरूले चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । विगत एक महिना देखि गाउँ केन्द्रित चुनावी अभियान चलाइरहेका कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार चुनाव नजिकिएसँगै बजार केन्द्रित हुँदै अभियानलाई तीव्र बनाएका हुन । २ दिन मात्रै चुनाव प्रचारको समय बाँकी रहँदा उम्मेदवारहरू बजार केन्द्रित हुँदै ¥याली निकाल्ने, रोड सो गर्ने जस्ता गतिविधि गरिरहेका छन् ।
चुनाव प्रचार प्रसारका क्रममा शनिवार नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मुख्य राजमार्ग क्षेत्रमा मोटरसाइकल ¥याली निकालेको छ । धनगढी देखि सुरु भएको ¥याली अत्तरिया, स्याउले बजार हुँदै पुनः अत्तरियामा पुगेर समापन भएको थियो । उक्त पार्टीका उम्मेदवार गोरख विष्टले पनि शनिवार गौरीगंगामा चुनावी घरदैलो कार्यक्रम गरेका छन् ।
कांग्रेसले आइतबार भने बजार क्षेत्रमै प्रचार प्रसार गर्ने तालिका बनाएको छ । मूल निर्वाचन परिचालन समितिका अनुसार आइतबार बिहान अत्तरियामा धनगढी रोड, महेन्द्रनगर रोड, गोदावरी पुल हुँदै पूर्व रोडको सशस्त्र बाहिनी सम्म घरदैलो गर्ने कार्यक्रम रहेको छ । यस्तै दिउँसो अत्तरिया चौराहाबाट गेटा माछापालन, मालाखेती पिपल चौतारा, तेघरी काप्राबोटसम्म ¥याली निकालेर अत्तरिया हुँदै मसुरीया बजार सम्म पुग्ने कार्यक्रम रहेको निर्वाचन मूल समितिले जनाएको छ ।
नेकपा एमालेले शनिवार गोदावरीको वडा नम्बर ३ र १० मा घरदैलो कार्यक्रम गरेको छ । उक्त पार्टीका उम्मेदवार लेख राज भट्ट सहित दुवै वडामा घरदैलो गरिएको निर्वाचन प्रचार प्रसार समितिले जनाएको छ । एमालले अत्तरिया बजार क्षेत्रमा चुनावी प्रचारको अन्तिम दिन प्रचार प्रसार गर्ने योजना बनाएको छ ।
शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उक्त पार्टीका उम्मेदवार खेम राज कोइराला सहितको सहभागितामा अत्तरिया बजारमा ¥याली निकालेको छ । अत्तरियाको महोत्सव स्थलबाट सुरु भएको ¥याली गोदावरीका १२ वटै वडा हुँदै गौरीगंगा सम्म पुगेको रास्वपा कैलाली क्षेत्र नम्बर ४ का प्रचार प्रसार संयोजक दीपक ओझाले बताए । उनले आइतबार भने घरदैलो अभियानलाई निरन्तरता दिइने बताए ।
शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अत्तरिया बजारमा घरदैलो कार्यक्रम गरेको छ । राप्रपाका उम्मेदवार कमल राजवारले अत्तरिया बजारका पसलहरुमा भोट माग्दै घरदैलो गरेका थिए । उनले चुनाव प्रचार प्रसारका क्रममा बजार क्षेत्रमा घरदैलो गरिरहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीले पनि शनिवार गोदावरीका वडा नम्बर १ र २ मा घरदैलो गरेको छ । पार्टीका नेता धर्म सिंह कुँवरले पार्टीका उम्मेदवार हरि राम चौधरी सहित घरदैलो गरिएको बताए । उनले बजार क्षेत्रका पसलहरूमा भने घरदैलो गर्न बाँकी रहेको बताए ।
कैलाली क्षेत्र नम्बर ४ मा एक जना स्वतन्त्र सहित १६ जना चुनावी मैदानमा रहेका छन् । यस क्षेत्रबाट चुनावी मैदानमा होमिएका स्वतन्त्र उम्मेदवार छत्र भट्टले पनि चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका भए पनि शनिवार बिहान पितृ शोक परेपछि प्रभावित भएको छ । उनका बुवा ७९ वर्षीय पदम बहादुर भट्टको शनिवार बिहान निधन भएको थियो । उनको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका अन्य उम्मेदवारले भने बजार क्षेत्रमा खासै प्रचार प्रसार गरेका छैनन् ।