धनगढी, १६ फागुन/ कैलाली निर्वाचन क्षेत्र नम्बर–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार डम्मर बहादुर रावलले एमालेका उम्मेदबारलाई समर्थन जनाएका छन् ।
रावलले आफ्नो उम्मेदवारी निश्कृय गरी नेकपा एमालेका उम्मेदवार सूर्य बहादुर थापालाई सघाउने सहमति भएको शनिबार कैलालीको लम्कीमा आयोजित घोषणा सभामा जानकारी गराएका छन् ।
दुवै पक्षबीच भएको सहमति अनुसार रावलले चुनावी प्रतिस्पर्धाबाट पछि हट्दै थापाको जित सुनिश्चित गर्न सक्रिय रूपमा सहयोग गर्ने बताएका छन् । उनीहरु अब आगामी दिनमा संयुक्त रूपमा चुनावी कार्यक्रम र प्रचारप्रसार सञ्चालन बताएका छन् । यस सहमतिले कैलाली–२ को चुनावी प्रतिस्पर्धामा नयाँ समीकरण बन्ने भएको छ ।
कैलाली २मा एमालेबाट सूर्यबहादुर थापा, कांग्रेसबाट विजय स्वाँर, नेपाली कम्युनिस्ट पार्टीबाट नन्दबहादुर साउँद, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केपी खनाल, नागरिक उन्मुक्ति पार्टी नेपालबाट पतिराम चौधरी मैदानमा छन् ।