कञ्चनपुर / फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा ड्रोन प्रयोगमा रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार कुनै व्यक्ति वा निकायले अनुमति लिई सञ्चालनमा रहेका ड्रोन यही फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म प्रयोग गर्न नपाइने भएको छ । नियम विपरित ड्रोन उडाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले बताए ।
निर्वाचन हुनुभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुदासम्म ड्रोनको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको उनको भनाइ रहेको छ ।
यसैगरी, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री, वितरण तथा सेवनमा पूर्णप्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।