धनगढी, १६ फागुन / युथ फर फेडरल डिस्कोर्स र FDWLD को संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिका-१३, कैलाली गाउँमा निर्वाचन साक्षरता सम्बन्धी कार्यक्रम गरिएको छ।
आसन्न फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब ५० जना मतदाताको सहभागिता रहेको थियो। पहिलोपटक मतदान गर्न लागेका युवादेखि ज्येष्ठ नागरिकसम्मको उपस्थिति रहेको कार्यक्रम संयोजक निराजन बलायरले जानकारी दिए।
कार्यक्रममा निर्वाचनको महत्व, सदर मत कसरी हाल्ने, बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानी, सुरक्षासंयन्त्रलाई सहयोग गर्ने तरिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान प्रक्रियामा निष्पक्ष रूपमा सहभागी गराउने विषयमा व्यवहारिक सिकाइ गराइएको बताइएको छ।
आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले मतदातामा जिम्मेवारीबोध अभिवृद्धि गर्न र स्वच्छ तथा सहभागितामूलक निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।