धनगढी । फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा दलहरू प्रचार–प्रसारमा व्यस्त देखिएका छन् । घरदैलो, सभा–सम्मेलन र सामाजिक सञ्जालसँगै बजार उम्मेदवारको फोटो र निर्वाचन चिन्ह अंकित टिसर्टहरू छ्यापछ्याप्ती बिक्री–वितरण भइरहेको पाइएको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि र बालेनको फोटो राखिएका टिसर्ट बजारमा खुलेआम किनबेच भइरहेका छन् ।
तर, यस्तो गतिविधि भने निर्वाचन आचारसंहिताविपरीत रहेको सरोकारवालाहरू बताउँछन् । निर्वाचन आयोग नेपालद्वारा जारी “निर्वाचन आचारसंहिता, २०८२” को परिच्छेद २ अन्तर्गत सबैले पालना गर्नुपर्ने आचरणको बुँदा नम्बर ४ (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमका सांकेतिक सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न नहुने स्पष्ट उल्लेख छ । यद्यपि, धनगढीका विभिन्न स्थानमा यस्ता टिसर्टहरू खुलेआम बिक्री भइरहेको पाईएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले उम्मेदवारको फोटो अंकित टिसर्ट बिक्री–वितरण तथा प्रयोग गर्न नमिल्ने बताएका छन् । उनले भने, ’यस्ता सामग्री बिक्री–वितरण गरिएको भेटिएमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्छ।’ त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन संयोजक किरण जोशीले पनि उम्मेदवारको फोटो अंकित टिसर्ट प्रयोग गर्न नपाइने बताइन्। ’यस्तो गरेको भेटिएमा अनुगमन गरी कारबाही गर्छौं,’ उनले भनिन्।