शेरबहादुर ऐर,धनगढी/ सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा आयोडिनयुक्त नूनको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ । सरकारी स्वामित्वको संस्था साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड द्वारा उपलब्ध गराइएको तथ्यांकले प्रदेशभर आयोडिनयुक्त नूनको खपतमा निरन्तर वृद्धि भइरहेको देखाएको हो । जनचेतनामा आएको विस्तार, विद्यालयस्तरदेखि समुदायसम्म सञ्चालन गरिएका कार्यक्रम, र दुर्गम जिल्लामा सरकारले उपलब्ध गराउँदै आएको अनुदानले यस परिवर्तनलाई थप गति दिएको छ ।
चालु आर्थिक वर्ष २०८२र०८३ मा नेपाल सरकारले सुदूरपश्चिम प्रदेशका लागि ३६ हजार ७४९ क्वीन्टल अनुदानको नून छुट्याएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा छुट्याइएको ३१ हजार ५ सय क्वीन्टलको तुलनामा करिब पाँच हजार क्वीन्टलले बढी हो । अनुदानको परिमाणमा भएको यो वृद्धिले सरकारको प्राथमिकता र जनस्वास्थ्यप्रतिको प्रतिबद्धतालाई स्पष्ट संकेत गर्छ ।
त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो छ महिनामै ५२ हजार ६ सय ४६ क्वीन्टल आयो, न्यू शक्ति लगायतका आयोडिनयुक्त नून बिक्री भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४५ हजार ३३० क्वीन्टल मात्रै बिक्री भएको थियो । अर्थात्, आधा वर्षमै करिब सात हजार क्वीन्टल बढी नून बिक्री भएको देखिन्छ । कार्यालयका अनुसार, समग्र खपत गत वर्षको तुलनामा करिब १० प्रतिशतले वृद्धि भएको छ । यसले सुदूरपश्चिम प्रदेशका नागरिकहरूमा आयोडिनयुक्त नूनप्रतिको विश्वास र सचेतनामा उल्लेखनीय परिवर्तन आएको संकेत गर्छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रादेशिक कार्यालय धनगढीका प्रबन्धक तेजबहादुर कुवँरका अनुसार, बिक्री वृद्धि हुनुमा सबैभन्दा ठूलो कारण जनचेतनामूलक कार्यक्रमहरू हुन् । उनका अनुसार, विगतमा खुला सिमानाका कारण भारतबाट गुणस्तरहीन नून भित्रिने र जनचेतनाको अभावमा त्यही नून प्रयोग हुने अवस्था थियो । तर, अहिले परिस्थितिमा उल्लेखनीय सुधार आएको छ । आयोडिनको कमीले बालबालिकामा हुने मानसिक तथा शारीरिक समस्या, गर्भवती महिलामा देखिने जटिलता र थाइराइडसम्बन्धी रोगहरूबारे व्यापक जानकारी दिइन थालेपछि उपभोक्ताहरू सचेत भएका छन् । परिणामस्वरूप, गुणस्तरहीन नूनको प्रयोग लगभग पूर्ण रूपमा बन्द भएको बताइन्छ ।
नेपाल सरकारले देशभरका दुर्गम २२ जिल्ला तथा सुदूरपश्चिम प्रदेशका चार जिल्लामा विशेष अनुदानको व्यवस्था गरेको छ । सुदूरपश्चिमका अछाम, बाजुरा, दार्चुला र बझाङ जिल्लाका लागि सरकारले अनुदानमा नून उपलब्ध गराउँदै आएको छ ।
अनुदान प्राप्त जिल्लामा प्रति प्याकेट नौ रुपैयाँमै ‘भानु’ ब्रान्डको आयोडिनयुक्त नून बिक्री केन्द्रमार्फत उपलब्ध गराइँदै आएको छ । दुर्गम र आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गर्दै ल्याइएको यस योजनाले सस्तो दरमा गुणस्तरीय नून उपलब्ध गराएर स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएको छ ।
प्रदेशभर रहेका डिपो र बिक्री केन्द्र गरी २७ स्थानबाट अनुदानसहित अन्य ब्रान्डका नून पनि वितरण हुँदै आएका छन् । यसले दुर्गम भेगसम्म सहज आपूर्ति सुनिश्चित गरेको छ ।
फेब्रुअरीः आयोडिन नूनको महिना
हरेक वर्षझैं यस वर्ष पनि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ले फेब्रुअरी महिनालाई ‘आयोडिन नूनको महिना’ का रूपमा मनाइरहेको छ । ‘थोरै खाऔं, सही मात्रामा खाऔं, दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त आयो, न्यू शक्ति र भानु नून नै खाऔं’ भन्ने नाराका साथ देशव्यापी अभियान सञ्चालन गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना भइरहेका छन् । स्वास्थ्य कार्यालयसँग सहकार्य, विद्यालयस्तरीय कार्यक्रम, हाटबजार तथा सार्वजनिक स्थलमा प्रचारप्रसार, पम्पलेट वितरण, अन्तरक्रियात्मक कार्यक्रमजस्ता गतिविधि सञ्चालन भइरहेका छन् ।
प्रादेशिक कार्यालय धनगढीले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई आयोडिनयुक्त नूनको महत्वबारे जानकारी दिनुका साथै आयो नून लोगो अंकित झोला वितरण गरेको छ । विद्यार्थीहरूलाई कार्यालयमै ल्याएर प्रयोगात्मक रूपमा आयोडिन परीक्षणसम्बन्धी जानकारी पनि दिइएको छ । यसले बालबालिकामार्फत परिवारसम्म सन्देश पुग्ने विश्वास गरिएको छ ।
आयोडिन मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो । यसको कमीले घेंघा रोग, थाइराइड समस्या, बौद्धिक विकासमा अवरोध, बालबालिकामा मानसिक कमजोरी तथा गर्भावस्थामा जटिलता निम्त्याउन सक्छ । त्यसैले विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय निकायहरूले आयोडिनयुक्त नूनको नियमित प्रयोगलाई अनिवार्यजस्तै मानेका छन् ।
नेपाल सरकारले पनि लामो समयदेखि आयोडिनयुक्त नूनलाई प्राथमिकता दिँदै आएको छ । विशेष गरी दुर्गम र पहाडी जिल्लामा आयोडिनको कमी देखिने भएकाले त्यस्ता क्षेत्रलाई लक्षित गरी अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।
सुदूरपश्चिम प्रदेश जस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा नूनको नियमित आपूर्ति आफैंमा चुनौतीपूर्ण कार्य हो । तर हाल २७ वटा डिपो र बिक्री केन्द्रमार्फत वितरण प्रणाली सुदृढ बनाइएको छ । यसले उपभोक्तालाई सहज पहुँच दिएको छ ।
विगतमा भारतसँगको खुला सिमानाका कारण अनियन्त्रित रूपमा भित्रिने सस्तो तर गुणस्तरहीन नूनको प्रयोग बढेको थियो । जनचेतनाको अभाव र गुणस्तर परीक्षणको कमीका कारण धेरैले आयोडिन नभएको नून प्रयोग गर्दै आएका थिए । तर, अहिले उपभोक्ताहरू ब्रान्ड, प्याकेटमा अंकित लोगो र आयोडिनको मात्रा जाँच्ने बानी बसाल्दै गएका छन् । बजार अनुगमन कडाइ गरिनु, सचेतना कार्यक्रमको विस्तार, र विद्यालयस्तरबाटै अभियान सञ्चालन गरिनुले उपभोक्ताको सोचमा सकारात्मक परिवर्तन ल्याएको छ ।
यद्यपि खपतमा वृद्धि उत्साहजनक भए पनि सबै घरपरिवारमा एक सय प्रतिशत आयोडिनयुक्त नूनको प्रयोग सुनिश्चित गर्नु अझै चुनौतीपूर्ण कार्य हो । दुर्गम गाउँ, आर्थिक अभाव, र केही ठाउँमा अझै देखिने परम्परागत सोचका कारण पूर्ण उपलब्धि हासिल हुन बाँकी छ ।
प्रबन्धक कुवँरका अनुसार, आगामी दिनमा अझ व्यापक अभियान सञ्चालन गर्ने योजना रहेको छ । विशेष गरी गर्भवती महिला, किशोरी तथा विद्यालयका विद्यार्थीलाई लक्षित कार्यक्रमलाई प्राथमिकता दिइनेछ । साथै, स्थानीय तहसँग सहकार्य गर्दै घरदैलो कार्यक्रम, रेडियो तथा सामुदायिक माध्यममार्फत सन्देश प्रवाह गर्ने तयारी छ ।