धनगढी, २ फागुन / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रोशन शाही यतिबेला घरदैलो अभियानमा सक्रिय बनेका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको एजेण्डा प्रस्तुत गरिरहेका छन्।
राप्रपाबाट क्षेत्र नम्बर ५ मा पाँच जनाको नाम सिफारिस भएकोमा पार्टीले यसपटक युवातर्फबाट शाहीलाई उम्मेदवार बनाएको हो। धनगढी मा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय शाहीले २०७९ को स्थानीय तह निर्वाचनमा धनगढी–१ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा सम्मानजनक मत प्राप्त गरेपछि उनी राप्रपामा आबद्ध भएका हुन्।
हाल उनले धनगढी उपमहानगरपालिकाका विभिन्न वडासहित कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने कैलारी गाउँपालिकाका दुई वडामा घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। घरदैलोका क्रममा ४० वर्षमाथिका मतदाताबाट राम्रो साथ र समर्थन पाइरहेको उनले बताएका छन्।
“हाम्रो पार्टीले उठाएको राजसंस्था र हिन्दु अधिराज्यको एजेण्डालाई धेरैले सकारात्मक रूपमा लिनुभएको छ,” शाहीले भने, “युवाहरूलाई पनि यसको महत्व बुझाउँदै अघि बढिरहेका छौँ।”
शाहीले राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि राप्रपाको एजेण्डा आवश्यक रहेको दाबी गर्दै मतदातालाई सोही आधारमा मतदान गर्न आग्रह गरिरहेका छन्। निर्वाचन आचारसंहिताको पालना गर्दै घरदैलोमार्फत चुनावी माहोल आफ्नो पक्षमा बनाउन केन्द्रित रहेको उनको भनाइ छ।
