धनगढी, २ पो फागुन / कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेम बहादुर आले मगरले २० बुँदे विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन्। सार्वजनिक प्रतिबद्धतामा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, युवा रोजगारी, महिला तथा सीमान्तकृत समुदायको अधिकारदेखि पर्यटन र औद्योगिक विकाससम्मका विषयलाई प्राथमिकतामा राखिएको छ।
खेलकुद पूर्वाधारतर्फ धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरी सुदूरपश्चिमलाई ‘क्रिकेट हब’ बनाउने घोषणा गरिएको छ। यसले युवालाई खेलकुद, अनुशासन र राष्ट्र निर्माणमा जोड्ने विश्वास व्यक्त गरिएको छ। हवाई पूर्वाधार विस्तारअन्तर्गत धनगढी विमानस्थलको धावनमार्ग २५०० मिटर पुर्याई ठूला जहाज अवतरण योग्य बनाउने र सुदूरपश्चिमलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने योजना अघि सारिएको छ।
स्वास्थ्य क्षेत्रमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत ३०० देखि ६०० शैयाको अस्पताल यथाशीघ्र सञ्चालनमा ल्याई एमबिबिएस लगायतका कार्यक्रम सुरु गर्ने प्रतिबद्धता जनाइएको छ। सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत सञ्चालनमा ल्याई विशिष्टिकृत सेवा विस्तार गर्ने, सिकलसेल बिरामीका लागि छुट्टै वार्ड स्थापना गरी उपचार तथा अनुसन्धानलाई व्यवस्थित बनाउने उल्लेख छ।
अधूरो अवस्थामा रहेको धनगढी–खुटिया–दिपायल–बाडचैनपुर हुँदै उरै भञ्ज्याङसम्मको भारत–नेपाल–चीन जोड्ने त्रिदेशीय सडक छिटो सम्पन्न गरी क्षेत्रीय आर्थिक र धार्मिक गतिविधि विस्तार गर्ने योजना पनि सार्वजनिक गरिएको छ। मोहना, खुटिया, पुरही, पुराहा र शिवगंगा नदी किनारमा हरित क्षेत्रसहित दीर्घकालीन तटबन्ध निर्माण गरी डुबान समस्याको समाधान गर्ने प्रतिबद्धता गरिएको छ।
लागुऔषध दुर्व्यसन नियन्त्रण, पुनःस्थापना र सीमा सुरक्षामा कडाइ गर्ने, ग्रामीण सडक स्तरोन्नति, विभिन्न नदीमा पक्की पुल निर्माण तथा प्रादेशिक बसपार्क कार्यान्वयनमा लैजाने योजना पनि समेटिएको छ। विदेश तथा स्वदेशमा काम गर्न जाने युवालाई लक्षित गरी प्रदेशस्तरीय सिप तालिम केन्द्र स्थापना, प्राविधिक शिक्षा र रोजगारमुखी तालिममार्फत स्वरोजगार उन्मुख बनाउने घोषणा गरिएको छ।
पर्यटन प्रवर्द्धनअन्तर्गत धनगढी–७ स्थित वनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उल्लेख छ। भूमिहीन, सुकुम्बासी, मुक्तकमैया र लालपुर्जा नपाएकालाई लालपुर्जा वितरण, सुरक्षित आवास कार्यक्रम र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता गरिएको छ।
कृषिमा आधुनिक प्रविधि, सिँचाइ व्यवस्थापन र मल–बीउको सहज उपलब्धता सुनिश्चित गर्ने, महिला सशक्तीकरणका लागि उद्यमशीलता र नेतृत्व विकास, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्ने कार्यक्रम अघि सारिएको छ। थारू समुदायसहित स्थानीय भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक संग्रहालय निर्माणमा पहल गरिने जनाइएको छ।
उद्योग-व्यापार प्रवर्द्धन, स्थानीय उत्पादनको बजार सुनिश्चितता, बृद्धाश्रम, अनाथालय र अपाङ्गता सेवा केन्द्रलाई राज्यको सहयोग, शैक्षिक संस्थामा पूर्वाधार तथा डिजिटल र प्राविधिक शिक्षामा लगानी वृद्धि गर्ने योजना पनि समेटिएको छ। साथै चटकपुरस्थित नेपाल आयल निगमको डिपो स्थानान्तरण गरी मानव बस्तीको सुरक्षा सुनिश्चित गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ।
उम्मेदवार आलेले साझा विकास र समावेशी समृद्धिको लक्ष्यसहित मतदातासँग साथ र समर्थनको अपिल गरेका छन्।
यस्ता छन् २० बुँदे प्रतिबद्धता
१. फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण।
२. धनगढी विमानस्थलको धावनमार्ग २५०० मिटर विस्तार।
३. ३००–६०० शैयाको अस्पताल सञ्चालन र MBBS सुरु।
४. सेती प्रादेशिक अस्पताल संघीय मातहत र सिकलसेल वार्ड स्थापना।
५. त्रिदेशीय सडक शीघ्र सम्पन्न।
६. मोहना, खुटिया, पुरही, पुराहा, शिवगंगा नदीमा हरित तटबन्ध।
७. लागुऔषध नियन्त्रण र पुनःस्थापना कार्यक्रम।
८. ग्रामीण सडक स्तरोन्नति, विभिन्न नदीमा पक्की पुल, प्रादेशिक बसपार्क कार्यान्वयन।
९. प्रदेशस्तरीय सिप तालिम केन्द्र स्थापना।
१०. वनस्पति उद्यान र जाखोर ताल विकास।
११. भूमिहीन, सुकुम्बासी, मुक्तकमैया व्यवस्थापन र आधारभूत सेवा पहुँच।
१२. आधुनिक कृषि, सिँचाइ र मल–बीउ उपलब्धता।
१३. महिला सशक्तीकरण र नेतृत्व विकास।
१४. दलित, अपाङ्गता भएका, अल्पसंख्यक तथा सीमान्तकृतको अधिकार सुनिश्चित।
१५. स्थानीय संस्कृति संरक्षणका लागि सांस्कृतिक संग्रहालय।
१६. (नारामूलक साझा विकास अभियान)
१७. साना–मझौला उद्योग प्रवर्द्धन र बजार सुनिश्चितता।
१८. बृद्धाश्रम, अनाथालय र अपाङ्गता सेवा केन्द्रलाई राज्य सहयोग।
१९. शैक्षिक संस्थामा पूर्वाधार, डिजिटल र प्राविधिक शिक्षा लगानी।
२०. नेपाल आयल निगम डिपो स्थानान्तरण पहल।