धनगढी, २२ माघ / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सवको अवसरमा कैलालीको धनगढीस्थित केदार मोबाइल हाउस सम्मानित भएको छ। २०८१ माघ १ देखि २०८२ पौष मसान्तसम्मको अवधिमा रिचार्ज कार्ड कारोबार तथा ग्राहक सेवा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको मूल्यांकन गर्दै नेपाल टेलिकमले केदार मोबाइल हाउसलाई प्रशंसा–पत्र प्रदान गरेको हो।
प्रशंसा-पत्रमा स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार, ग्राहक सन्तुष्टि वृद्धि तथा कारोबार प्रवर्द्धनमा केदार मोबाइल हाउसले खेलेको भूमिकाको उच्च मूल्यांकन गरिएको छ।
कार्यक्रमका क्रममा नेपाल दूरसञ्चार कम्पनीका अधिकारीहरूले व्यवसायिक इमानदारी, सेवामुखी सोच र निरन्तर सक्रियताका कारण केदार मोबाइल हाउस सम्मानको हकदार बनेको बताएका छन्।
सम्मान ग्रहणपछि केदार मोबाइल हाउसका सञ्चालक विनय चोखालले नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, भरपर्दो र ग्राहक–मैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।