धनगढी , २२ माघ / नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव लेखराज भट्टले देशमा स्थायित्वका लागि पार्टीले नचाहेको निर्वाचन स्वीकार गरेको बताएका छन् ।
प्रेस चौतारी नेपालको २८औे स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित अक्षयकोष स्थापना, पुरस्कार वितरण तथा स्मारिका विमोचन कार्यक्रममा बोल्दै उपमहासचिव भट्टले सो कुरा बताएका हुन् ।
उनले राजनीति दर्शन विना संस्कृतिलाई सधैका लागि सिध्याउने गरी ध्वंस मच्चाउने शक्तिशाली भएपनि देश निर्माण गर्न नसक्ने बताए । उनले एमालेसँग देश निर्माणका लागि स्पष्ट भिजन भएकोले एमालेले नै देशको विकास र राष्ट्रियताको रक्षा गर्न सक्ने दाबी गरे ।
कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिनुभएका भट्टले गुगल हेरेर बोल्ने भन्दा भूगोल र मनोविज्ञान बुझेको नेता चाहिएको र आफूले रेखाकन गरेका विकास आयोजना पूरा गर्न फेरि उम्मेदवार बनेको बताए ।
राष्ट्रिय सभा सदस्य लिला भण्डारीले राष्ट्रिय शक्तिलाई छिन्नभिन्न बनाउन अदृश्य शक्ति लागेको बताइन । नागरिक सरकार भनिएर मन्त्री भएकाहरु नै राष्ट्रिय स्वतन्त्र पार्टीमा गएर उम्मेदवार बनेकाले कसैबाट उनीहरु परिचालित हुन भन्ने कुरा स्पष्ट देखाएको उनले बताइन् ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले राजनीतिक परिवर्तन, निर्वाचन जस्ता काममा अगाडि सरेर काम गर्दा पत्रकारहरुले आफ्नो सुरक्षाको ख्याल गर्दै समाचार सम्प्रेषण गर्दा आचारसंहिता पूर्ण रूपमा पालना गर्न सुझाव दिनुभयो ।
पाँच पत्रकार र दुई शाखालाई पुरस्कार तथा सम्मान
पे्रस चौतारी नेपालको २८औं स्थापना दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश कमिटि र जिल्ला कमिटिद्वारा सयुक्त रुपमा भएको कार्यक्रममा पाँच पत्रकार र दुई शाखालाई सम्मान गरिएको छ ।
विहीबार धनगढीमा आयोजित कार्यक्रममा प्रेस चौतारी सुदूरपश्चिम शाखाले थापना गरेको कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कारबाट एकिन्द्र तिमिल्सेना (कैलाली), सरिता नेपाली (बाजुरा), दीर्घ खत्री स्मृति पत्रकारिता पुरस्कारबाट रमेश विष्ट (बझांग)लाई पुरस्कृत गरेको छ । उत्कृष्ट शाखाका रुपमा प्रेस चौतारी नेपाल बाजुरा र कञ्चनपुर शाखालाई सम्मान गरिएको छ ।
जिल्ला शाखाले स्थापना गरेको चक्र डगौरा स्मृति पत्रकारिता पुरस्कारबाट लिलाजंग शाही, सृजनशील युवा पत्रकारिता पुरस्कार कमल साउदलाई पुरस्कृत गरिएको छ ।
स्थापना दिवसमा विभिन्न पुरस्कार वितरण गरिएको छ भने स्मारिका विमोचन कार्यक्रममा पत्रकार अक्षय कोष स्थापना गरिएको छ । दस लाखको कोष बनाउने लक्ष्यका साथ शुरू भएको कोषमा एक लाख ५८ हजार ३०० रूपियाको अक्षय कोष स्थापना भएको प्रेस चौतारीका कैलाली जिल्ला अध्यक्ष जनक विष्टले जानकारी दिए । कोषबाट पत्रकार महासंघका सदस्य तिनका परिवारका सदस्यलाई समस्या परे सहायता उपलब्ध गराउन संस्थाले जनाएको छ ।